त्रिभुवन राजपथको नयाँगाउँ क्षेत्र । फाइल फोटो: गणेश विष्ट/पालिका प्रेस

 पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवनराजपथमा सवारी सञ्चालनको समय तालिका सार्वजनिक गरेको छ ।

अविरल तथा भारी वर्षाका कारण काठमाडौं प्रवेश गर्ने प्रमुख सडकहरूमा समस्या आएपछि त्रिभुवनराजपथमा सवारीको चाप बढेको भन्दै प्रशासनले हेटौंडाबाट काठमाडौं जाने र काठमाडौं हुँदै हेटौंडा आउने सवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार असोज ९ गते हेटौंडाबाट काठमाडौं जाने सवारीलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चौकीटोलबाट त्रिभुवनराजपथमा प्रवेश गराइनेछ । त्यसैगरी असोज १० गते बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म हेटौंडाबाट काठमाडौं जाने सवारी सञ्चालन गर्न दिइनेछ ।

काठमाडौं–हेटौंडा आउने सवारीका लागि भने असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट सवारी सञ्चालन गरिनेछ । असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म तथा असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौं–हेटौंडा दिशामा सवारी सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पृथ्वी र कान्ति राजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक वस्तुको आपूर्ति नरोकियोस् र सडकमा सवारीको चाप व्यवस्थापन होस् भन्ने उद्देश्यले समय तालिका बनाएर त्रिभुवनराजपथ सञ्चालन गरिएको बताए ।

उनले भने, “अहिलेको अवस्थामा सडकको क्षमता र सुरक्षालाई ध्यानमा राखेर सवारी सञ्चालनको समय निर्धारण गरिएको हो । चालक, व्यवसायी र यात्रुले तोकिएको समयको पालना गरिदिनुपर्छ । अत्यावश्यक सामान बोकेका सवारीलाई प्राथमिकताका साथ सुरक्षित रूपमा आवागमन गराउने हाम्रो प्रयास हो ।”

प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा लामो तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवनराजपथमा पूर्ण रूपमा निषेध गरेको छ ।

त्यसैगरी त्रिभुवनराजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक बसलाई मात्र सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ । सडकको अवस्था, सवारीको चाप र सुरक्षालाई मध्यनजर गर्दै निर्धारित समयबाहेक सवारी सञ्चालन नगर्न प्रशासनले चालक तथा व्यवसायीलाई आग्रह गरेको छ ।

भारी वर्षाका कारण पृथ्वी राजमार्ग तथा कान्ति राजमार्गमा आवागमन प्रभावित भएपछि पूर्व र पश्चिमबाट काठमाडौं भित्रिने अत्यावश्यक वस्तुको ढुवानीमा समेत समस्या देखिएको छ । यस्तो अवस्थामा त्रिभुवनराजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै काठमाडौंमा खाद्यान्न, इन्धनलगायत अत्यावश्यक सामग्रीको आपूर्ति कायम राख्ने प्रयास गरिएको प्रशासनले जनाएको छ।

पालिका प्रेस
थप जानकारी