सहिद स्मारक हेटौंडाले हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित आफ्नै भवनमा जातीय संग्रहालय स्थापना गरेको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको संग्रहालयको भवनमा जातीय पहिचान झल्कने पहिरनसहितको पुरुष र महिलाको डमी राखिएको छ । २०७८ को जनगणना अनुसार मकवानपुरमा २६ जातजाति बसोबास छ । ‘ती सबै जातिको पहिचान झल्कने पहिरनसहित पुरुष र महिला उभिएको डमी राख्न लागेको छौं,’ सहिद स्मारक विकास समिति हेटौंडाका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले भने, ‘अहिलेसम्म १३ जातजातिका डमी राखिसकेका छौं, बाँकी पनि छिटै राख्ने छौं ।’
करिब ३ करोडको लागतमा निर्माण गरिएको उक्त संग्रहालयको साउन २४ मा आदिवासी जनजाति दिवसको अवसरमा उद्घाटन गर्ने योजना रहेको छ । सहिद स्मारक हेटौंडाका अध्यक्ष डोरमणि पौडेलले करिब चार कठ्ठा जमिनमा निर्माण गरिएको उक्त संग्रहालयमा चेपाङ, बाम्हण, क्षेत्री, राई, माझी, सुनुवार, तामाङ, गुरुङलगायत १३ जातजातिका महिला र पुरुषको डमी राखिएको र बाँककीको राखिँदै जाने बताए ।
स्मारकमा गत आर्थिक वर्ष २०८२÷०८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख २० हजारले भ्रमण गरेको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । हरेक दिन बिहान ६ः०० देखि बेलुका ९ः०० बजेसम्म खुल्ने स्मारकमा नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि ३०, सार्क राष्ट्रका नागरिकका लागि १०० र अन्य विदेशी नागरिकका लागि १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ माघ १७ मा यो स्मारकको अनावरण गरेका थिए ।
देशका विभिन्न संघर्षमा सहादत प्राप्त १२ जना सहिदको स्मारक निर्माण गरी सुरु गरिएको यो स्मारकमा सहिद स्मृति स्तम्भ, सहिद ग्यालरी, मदन स्मारक (मदन बाटिका), प्रजातान्त्रिक पार्क, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, चिडिया घर, फोहरासहितको पार्क, बालउद्यान, देवी मन्दिर, विवाह मण्डप, नर्सरी (ग्रिन हाउस), पौडी पोखरी, वनभोज स्थलसहित पछिल्लो पटक जातीय संग्रहालय पनि थपिएको छ ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्