मुग्लिन–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापनका लागि नयाँ समय तालिका निर्धारण गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले २३ असेजमा सूचना जारी गर्दै त्रिभुवन राजपथ हुँदै हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा आवतजावत गर्ने सवारी साधनलाई तोकिएको समयअनुसार मात्र सञ्चालन गर्न आग्रह गरेको हो।
कार्यालयका अनुसार हेटौंडाबाट काठमाडौं जाने सवारीका लागि असोज २४ गते बिहान २ बजेदेखि ४ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म राजमार्ग सञ्चालन गर्न सकिनेछ। त्यस्तै, असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म हेटौंडाबाट काठमाडौं जाने सवारी सञ्चालन गर्न दिइनेछ।

काठमाडौं हुँदै हेटौंडा आउने सवारीका लागि असोज २३ गते साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्म सडक सञ्चालन हुनेछ। असोज २४ गते बिहान २ बजेदेखि दिउँसो १२ बजेसम्म तथा राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म काठमाडौं–हेटौंडा आवागमन गर्न सकिनेछ। असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म समेत सवारी सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ।
ठूला मालवाहक सवारीलाई खबरदार
जिल्ला प्रशासन कार्यालयले वैकल्पिक व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा बढी तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीलाई उक्त सडकखण्ड प्रयोगमा पूर्ण रोक लगाएको छ।
त्यस्तै, यात्रुवाहक सवारी साधनका हकमा ११ मिटर लम्बाइसम्मका सवारी साधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।
मुग्लिन–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप अत्यधिक बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले समय तालिका निर्धारण गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण चालक, यातायात व्यवसायी तथा यात्रुलाई तोकिएको समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी वर्षायाममा पहिरो तथा सडक अवरोधको जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्नसमेत आग्रह गरिएको छ।





















































प्रतिक्रिया दिनुहोस्