मकवानपुरको भीमफेदी गाउँपालिकाले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका पाँच स्थानीय तहलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।
गाउँपालिकाले रसुवाका गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई जनही एक लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। पाँचवटै स्थानीय तहलाई गरी गाउँपालिकाले कुल पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार विपद्को समयमा प्रभावित स्थानीय तहलाई तत्काल राहत तथा पुनःस्थापनाका काममा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका स्थानीय तहलाई स्थानीय सरकारकै तहबाट ऐक्यबद्धता जनाउँदै सहयोग गर्न लागिएको उनले बताए।
सहयोग रकम गाउँपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिकबाट गरिएको सहयोग, कर्मचारीको स्वेच्छिक योगदान र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिने भएको छ। यसरी जनप्रतिनिधि र कर्मचारीको योगदानसमेत समेटेर विपद् प्रभावित क्षेत्रमा सहयोग पु¥याउने व्यवस्था मिलाइएको अध्यक्ष लामाले जानकारी दिए । गाउँपालिकाका अनुसार भोटेकोसी बाढीका कारण भीमफेदी गाउँपालिकाभित्र मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रचलित कार्यविधि र मापदण्डका आधारमा राहत उपलब्ध गराइनेछ। पीडित परिवारको अवस्था र लागू कानुनी व्यवस्थाअनुसार राहत वितरणको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।
अध्यक्ष लामाले विपद्को कठिन घडीमा प्रभावित क्षेत्रका स्थानीय तह र पीडित परिवारलाई एक्लो महसुस हुन नदिन स्थानीय सरकारका तर्फबाट सहयोगको हात अघि बढाइएको बताए। उनका अनुसार विपद् कुनै एउटा पालिका वा जिल्लाको मात्र समस्या नभएकाले यस्ता अवस्थामा स्थानीय तहबीच सहकार्य, समन्वय र आपसी सहयोग आवश्यक हुन्छ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्