मकवानपुरको कैलाश गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी पर्वका अवसरमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले शुभकामना सन्देश जारी गर्दै भदौ २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्था बन्द रहने जानकारी दिएका हुन् ।

चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्व प्रकृति पूजा, सांस्कृतिक पहिचान र सामुदायिक एकताको पर्वका रूपमा लिइन्छ । यस पर्वले चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अध्यक्ष मुक्तानले बताए । उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ समुदाय तथा कैलाशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविध सांस्कृतिक पहिचान बोकेका पर्वहरूले समुदायबीच आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

शुभकामना सन्देशमा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकप्रति सहानुभूति र समवेदना व्यक्त गर्दै पर्वलाई विगतझैँ भव्य तथा उल्लासमय रूपमा मनाउन नसकिए पनि विपद्को अवस्थालाई ध्यानमा राखी तडकभडक तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आग्रह गरेका छन् । गाउँपालिकाले न्वागी पर्वका अवसरमा परम्परागत रूपमा गरिने प्रकृति तथा पूर्वज पूजा, विभिन्न सांस्कृतिक गतिविधि र पारिवारिक जमघटलाई मर्यादित रूपमा निरन्तरता दिँदै आपसी सद्भाव, एकता र सामाजिक एकता कायम गर्न आग्रह गरेका छन् ।

पालिका प्रेस
थप जानकारी