मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुमबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपूर्जा) वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति गठनपछि मकवानपुरमा पहिलो पटक बुधबार कानुनी प्रक्रिया पूरा गरी भूमिहीन परिवारलाई पुर्जा वितरण गरिएको हो।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष वसन्त अधिकारी, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन र समितिका सदस्यसचिव एवम् नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत महेश्वर कार्कीले पुर्जा हस्तान्तरण गरेका हुन् ।
जग्गाधनी पुर्जा पाउनेमा रामबहादुर योञ्जन, उद्धवप्रसाद लम्साल, रुद्रप्रसाद सिम्खडा, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी र जयराम पुडासैनी रहेका छन् । पाँच परिवारलाई जनही ३०४.७२ वर्गमिटर तथा एक परिवारलाई ३४० वर्गमिटर जग्गा उपलब्ध गराइएको हो ।
एउटा कित्तामा करिब दुई धुर जग्गा बढी भएपछि लाभग्राहीले गोला प्रथाबाट आ–आफ्नो कित्ता छनोट गरेका थिए। वडा र गाउँपालिकाको सिफारिसअनुसार जग्गा बाँडफाँट गरिएको समितिले जनाएको छ । समितिका सदस्यसचिव कार्कीले सङ्ख्या जिल्लामा थोरै भए पनि भूमिहीनलाई पुर्जा वितरण गर्ने काम सुरु भएको सन्देश दिएको बताए । नयाँ व्यवस्था बमोजिम जिल्ला समितिले गत जेठ ३० गतेदेखि काम प्रारम्भ गरेको उनको भनाइ छ
भूमिहीनलाई पुर्जा दिन निवेदन सङ्कलन, वडास्तरीय सूचना, वडा सहजीकरण समितिको सिफारिस, गाउँ कार्यपालिकाको निर्णय, जिल्ला समितिबाट प्रमाणीकरण, जग्गा पहिचान, नाप जाँच र दाबी–विरोधसम्बन्धी सूचना प्रकाशनलगायत प्रक्रिया पूरा गर्नुपर्ने उनले बताए ।
प्रजिअ अधिकारीका अनुसार जिल्लामा २५ हजार ५८० अव्यवस्थित बसोबासी, चार हजार ९०१ भूमिहीन सुकुमबासी र ५२३ भूमिहीन दलितले फाराम भरेका छन्। जसमा कैलाशका ५७, बागमतीका ८८ र बकैयाका ५९ लाभग्राहीलाई पनि पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।














































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्