मकवानपुरको भीमफेदी–१ स्थित बाघझोरा खोलामा क्रसिङ संरचना निर्माणका लागि ठेक्का आव्हान गरिएको छ । डिभिजन सडक कार्यालय हेटौंडाले बाघझोरामा स्टार आरसीसी क्रसिङ संरचना निर्माण गर्नका लागि ठेक्का आव्हान गरेको हो । सडक डिभिजन कार्यालय हेटौंडाले २१ दिने सूचना प्रकाशन गर्दै बाघझोरा खोलामा क्रसिङ संरचना निर्माणका ठेक्का आव्हान गरेको कार्यालयका सूचनाअधिकारी यादव सुवेदीले जानकारी दिएका हुन् ।

त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा–भैँसे सडकखण्डमा पर्ने बाघझोरामा ४० मिटर लम्बाइको आरआरसी क्रसिङ संरचना निर्माणका लागि ठेक्का आव्हान गरि एको सूचनाअधिकारी सुवेदीले बताएका छन् । संरचना निर्माणका लागि आगामी असोज १५ गतेबाट ठेक्का खोलिने उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयबाट क्रसिङ संरचना निर्माणका लागि बजेट प्राप्त भएपछि संरचना आवश्यक प्रक्रियालाई अगाडि बढाएको उनले जानकारी दिए ।

बाघझोरामा बाक्स सहित बाटोलाई माथिबाट घेर्नेगरी निर्माण गर्न लागिएको संरचनाका लागि निर्माण सुरु भएको २ वर्षभित्र सबै काम सम्पन्न गर्नुपर्नेगरी सम्झौता हुने सूचनाअधिकारी सुवेदीले बताए । गत असार महिनामा क्रसिङ संरचना निर्माणका लागि आवश्यक प्रक्रियाको विषयमा छलफल भएको थियो । उनकाअनुसार संरचना निर्माणका लागि आवश्यक लागत अनुमान, डिजाइन लगायतको विषयमा छलफल गरेपछि ठेक्का आव्हान गरिएको हो ।

वर्षायाममा वर्षासँगै बाढी आउँदा बाघझोरा खण्ड वारपार गर्नु जोखिमपूर्ण हुने गर्दछ । बाघझोरामा बाढीकै कारण राजमार्ग घण्टौं अवरुद्ध हुने स्थितिपछि वारपार गर्न सहज हुने गरी पूर्वाधार निर्माण गर्न लागिएको हो । माथिबाट बगेको खोला बाघझोरासम्म आउने भएपछि क्रसिङ संरचना निर्माण गर्ने भएको उनले बताए । असोज १५ गतेपछि डिभिजन वन कार्यालयको रोहबरमा प्रस्तावको मूल्यांकन गरेर निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।

पालिका प्रेस
थप जानकारी