मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाका बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा झण्डै ४२ लाख रुपैयाँभन्दा रकम जम्मा गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पु¥याउन गाउँपालिकाले ४१ लाख ८७ हजार २६३ रुपैयाँ राहत कोषमा पठाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायका अनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय वन उपभोक्ता समितिसमेतको सहयोगमा सो रकम संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोषमा जम्मा गरिएको हो । जसमा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, शिक्षकहरूबाट १५ लाख ३२ हजार १२९ रुपैयाँ, कर्मचारीहरूबाट ९ लाख ४२ हजार ७०३ रुपैयाँ र जनप्रतिनिधिहरूबाट अध्यक्षको ३ महिनाको पारिश्रमिक र अन्यको १ महिनाको पारिश्रमिक गरी ६ लाख १३ हजार ३०५ रुपैयाँ जम्मा गरिएको थियो । त्यस्तै मनकामना सामुदायिक वन उपभोक्ता समिति, मनहरीबाट ५१ हजार रुपैयाँ र विद्यालय सहजकर्ता तथा कर्मचारीहरूः ४८ हजार १२६ रुपैयाँ जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय उपाध्यायले बताए ।

सरकारले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा राहतका लागि गरेको आह्वानअनुसार गाउँपालिकाले संस्थागत तथा व्यक्तिगत तवरबाट रकम जुटाएर कोषमा दाखिल गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । कालाखेतीका अनुसार गाउँपालिकामा भदौ १४ गते बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

बाढीपीडितको सहयोगार्थ गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो ३ महिना बराबरको सेवा सुविधा तथा अन्य जनप्रतिनिधिहरूले १ महिना बराबरको सेवा सुविधा बापतको रकम समेत सोही कोषमा जम्मा गर्ने घोषणा सो बैठकमा भएको थियो ।

पालिका प्रेस
थप जानकारी