नेपालका साना किसान कृषि सहकारी संस्थाका सदस्यका छोराछोरीलाई प्रशिक्षार्थी कृषि अध्ययनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिईओ झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोभिड–१९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन प्रतिबद्ध रहेको बताए ।

उनले साना किसान सदस्यको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक, सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको विश्वास छ । नेपालका ७५ बढी जिल्लामा साना किसान सञ्जाल रहेको छ भने साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गरिने उनको भनाइ छ । नेपालबाट प्रशिक्षार्थीका रूपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्ययन गरेर फर्केका धेरै युवा अहिले व्यवसायी बनिरहेका उनले बताए । ‘यी युवाले नेपालमै सम्भावनाको ढोका खोलिरहेका छन्,’ उनले भने । भेटमा साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ अध्यक्ष खेमबहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको सुनाए ।

युवालाई इजरायलले प्रशिक्षार्थीका रूपमा अवसर दिएर नेपालका किसानलाई ठूलो गुन लगाएको उनको धारणा छ । इजरायल र नेपालस्थित इजरायली दूतावास एवं राजदूत गोडरले खेलेको भूमिका महतत्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले धन्यवाद दिए । उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारमा कृषि अध्ययनका लागि विद्यार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको उनको दाबी छ ।‘इजरायलमा प्रयोग भएको नवीनतम प्रविधिलाई नेपालमा भित्र्याउन कार्यक्रम महत्त्वपूर्ण रहेको छ । मेचीदेखि महाकालीसम्मका युवा किसानलाई समेट्दै यो कार्यक्रमलाई अझै व्यापक बनाइनुपर्छ’, उनले भने । इजरायले उपलब्ध गराएको अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याकलगायतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए ।

अहिले इजरायलबाट नेपाल फर्केका युवाले देशका लागि नमुनायोग्य कृषि कर्म गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिए । इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक १ करोड रुपैयाँ बराबरको तरकारी बिक्री गर्दै आएका छन् । धादिङकै नौबीसेका देवराज आचार्यले पनि उदाहरणीय तरकारी खेती गरिरहेका छन् ।

तनहुँको बाख्रा फार्म रूपन्देहीकी सिर्जना चौधरीले गरेको माछापालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्मलगायत धेरै युवाको कृषि तथा पशुपालन कर्म गौरव गर्नलायक देखिएको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी