मकवानपुरको बकैयामा प्रदेशस्तरको अस्पताल बनाउन माग गरिएको छ । बकैया गाउँपालिका उपाध्यक्ष एवम् माओवादी केन्द्र बकैया अध्यक्ष भक्तबहादुर खत्रीले बकैया आधारभूत अस्पताललाई स्तरबृद्धि गरेर प्रदेशस्तरको अस्पताल बनाउन माग गरेका हुन् ।

प्रदेशको राजधानी हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताल, निजी अस्पताल र क्लिनिक रहेपनि पूर्वीक्षेत्र स्वास्थ्यको पहुँचबाट टाढा भएको बताउँदै बकैयामा प्रदेशस्तरको अस्पताल माग गरिएको हो । हेटौंडामा हेटौंडा अस्पताल सहित निजी अस्पताल र क्लिनिक छ, पश्चिमी क्षेत्र मनहरीमा छिमेकी जिल्ला चितवनमा स्वास्थ्य सेवा लिन सकिने अवस्था छ तर, बकैय स्वास्थ्यको क्षेत्रमा पछाडि परेको उपाध्यक्ष खत्रीले बताए ।

बकैयामा रहेको बकैया आधारभूत अस्पताललाई स्तरबृद्धि गरेर प्रदेशस्तरीय अस्पताल बनाउन सके पूर्वीक्षेत्र बकैया, बागमती सहित छिमेकी जिल्ला ललितपुर, सिन्धुली र काभ्रेका केही भूभागलाई समेत पाएक पर्ने उपाध्यक्ष खत्रीको भनाइ छ । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ, धरान–चतरा– सिन्धुली–हेटौंडा मदन भण्डारी राजमार्ग, निर्माणाधीन तराइ– काठमाडौं जोड्ने द्रुतमार्ग, निर्माणाधीन हात्तिसुँडे सडक र मधेश प्रदेश जोड्ने सडकहरु बकैया– बागमती हुँदै जोडिने भएकाले पछिल्लो समय यहाँ सवारी दुर्घटना र अन्य विभिन्न घटना भएकाले उपचारका लागि पनि बकैयामा प्रदेशस्तरको अस्पतालको माग उठिरहेको हा यो सडकमा अहिले दिनहुँ जस्तो सवारी दुर्घटना हुने र दुर्घटनामा परेर ज्यान गुमाउनुपर्ने अवस्थाले बकैयामै सुविधा सम्पन्न अस्पताल भए चाँडो उपचार हुनसक्ने र मृत्युदर घटाउन सकिने स्थानीयको भनाइ छ ।

पालिका उपाध्यक्ष खत्रीले बकैयाको आधारभूत अस्पताललाई स्तरबृद्धि गर्नका लागि सरोकारवाला निकायमा पनि ध्यानाकर्षण गराएका छन् । उनले बागमती प्रदेशका मुख्यमन्त्री, भौतिक विकास मन्त्री, स्वास्थ्य मन्त्री लगायतलाई ध्यानाकर्षण गराउदा उनीहरु अस्पताल निर्माण र जनताको सेवा दिने विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए । पूर्वीक्षेत्रको बकैयामा प्रदेशस्तरको अस्पताल निर्माण भए हजारौं संख्यामा सेवाग्राहीले सहज सेवा पाउने थिए भने हेटौंडा र चितवन नै धाउनुपर्ने अवस्थाको पनि अन्त्य हुने बताइएको छ ।

पालिका प्रेस
थप जानकारी