रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उदाहरणीय कार्य गरिरहेको छ । कोदो, फापर, जुनेलो जस्ता हराउँदै गएका पौष्टिकतायुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरु दंग परेका छन् ।

हराउँदै गएका बालीहरुको व्यावसायिक खेती हुन थालेको छ । बिगत ३ वर्षदेखि गाउँपालिकाले कोदो, जुनेलो, धानकोदो र फापरको न्युनतम समर्थन मूल्य तोक्दै आएको छ भने गाउँपालिकाले सहकारीहरुमार्फत खरिद गराई किसान र सहकारीलाई थप अनुदानसमेत दिँदै आएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । ‘हामीले आर्थिक वर्ष २०७७÷०७८ देखि नै कोदो र फापरको न्युनतम समर्थन मूल्य तोकिदिएर सहकारीमार्फत उत्पादन खरिद गर्ने व्यवस्था गरेका हौँ, अहिले कोदो, फापरसँगै धानकोदो र जुनेलोको पनि समर्थन मूल्य तोकेर खरिदबिक्री भइरहेको छ ।’ कृषि शाखा प्रमुख चौधरीले भने–‘किसानले उत्पादन गरेका बालीको राम्रो मूल्य पाउने निश्चितता भएपछि व्यावसायिक रुपमा खेती गर्नेहरु बढिरहेका छन् ।’

गढीका किसानले हाल डेढ बिगाहा क्षेत्रफलसम्म कोदो खेती गर्दै आएका छन । पालिका भित्र अनुमानित तीनसय हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि शाखा प्रमुख चौधरीले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि कोदो र धान कोदोको मूल्य प्रतिकिलो ५४ रुपैयाँ, जुनेलोको ८४ र फापरको एकसय रुपैयाँ मूल्य तोकेको थियो । न्युनतम समर्थन मूल्य निर्धारण भएपछि गाउँपालिकाले सूचनामार्फत इच्छुक फर्म र सहकारीलाई आह्वान गर्ने गरेको छ । सोअनुरुप गाउँपालिकामै रहेको दुइवटा सहकारीले बर्सेनि ती उत्पादन खरिद र बिक्री गरिरहेका छन् । अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँलेका सबै कोदो खरिद गरी कोदोको पीठोको ब्रान्डिङ गरी बजार पठाउने गरेको छ भने एकता स्वाबलम्बन कृषि सहकारीले फापर र जुनेलो खरिद गरी बिक्री गर्ने गरेको छ ।

न्युनतम समर्थन मूल्य तोकिएका अन्नबालीमा गाउँपालिकाले थप प्रतिकिलो १० रुपैयाँ अनुदानसमेत दिँदै आएको छ । सो अनुदान रकममध्ये प्रतिकिलो ६ रुपैयाँ किसानले पाउनेछन् भने ४ रुपैयाँ खरिद गर्ने कृषि सहकारीले पाउने गरेका छन् । गाउँपालिकाले चालु वर्ष अन्नबाली खरिद बिक्रीका लागि ५ लाख रुपैयाँ अनुदान छुट्याएको कृषि शाखाले जनाएको छ । चालु आवको चैत समान्तसम्मको तथ्यांकअनुसार सहकारीहरुमार्फत ८ टन फापर, ७ टन कोदो र एक टन जुनेलो संकलन भएको छ ।

पालिका प्रेस
थप जानकारी