मकवानपुर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान सरुवा भएका छन् । थाहा नगरपालिकामा निरज पौडेल सरुवा भई आएका छन् । १० असोजमा थाहामा आएका पौडेलको स्वागत र सरुवा भएका प्रधानको विदाई गरिएको छ । प्रधान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएका हुन् भने पौडेल मालपोत कार्यालय चन्द्रपुर रौतहटबाट सरुवा भई आएका हुन् ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षताम भएको कार्यक्रममा उपप्रमुख भरत गोपाली तथा थाहा २ का वडाध्यक्ष बम बहादुर सिन्तान, ५ का विष्णु बहादुर गुरुङ र ७ नम्बर वडाध्यक्ष शिवराज थिङ तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सरुवा भएका प्रधानले थाहामा ९ महिनाको अवधिमा आफूले सक्दो सुधारात्मक काम गरेको बताए । उनले आफूले गरेको सेवा अवधिमा नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनीधिहरु र कर्मचारीहरुले गरेको सहयोगको प्रशंसा गरे । उनले थाहाको सकारात्मक सिकाइ अन्य कार्यालयहरुमा पनि अबलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधान २०८१ मंसिर १० गते सरुवा भई आएका थिए ।

कार्यक्रममा सरुवा भई आएका पौडेलले आफूले केही स्थानीय तहमा काम गरिसकेको बताउँदै थाहामा राम्रो गर्ने बताए । थाहा नगरपालिकाको राम्रो पृष्ठभूमि रहेको आफूले थाहा पाएको बताउँदै सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने बताए । यसका लागि जनप्रतिनीधिहरु तथा कर्मचारीहरुबाट सहयोग र समन्वयको अपेक्षा गरे ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नेपालको कर्मचारी प्रशासन व्यवस्थापन निकै फितलो भएकोले स्थानीय तहहरुमा विकास र सेवा प्रवाह तथा सुशासनमा ठोस काम हुन नसकेको बताए । प्रशासकीय अधिकृतहरु छोटोछोटो समयमा परिवर्तन भइरहनु पालिकाहरुका लागि सकारात्मक मान्न नसकिने विष्टको भनाइ थियो । निजामती सेवा ऐन अनुसार पनि कर्मचारीले दुई वर्षसम्म एउटै कार्यालयमा काम गर्न पाउनु पर्ने व्यवस्था भएपनि आफू निर्वाचित भएको साँढे तीन वर्षको अवधिमा ६ वटा हाकिम परिवर्तन हुनु दुखद् भएको उल्लेख गरे । विष्टले थाहामा कार्यरत हुँदा प्रमु्ख प्रशासकीय अधिकृत प्रधानले पु¥याएको योगदानको प्रशंसा गरे । उनले सरुवा भएर जाने आउने नियमित प्रक्रिया भएको बताउँदै थाहासँगको सम्बन्धलाई कायम राख्ने बताए ।

कार्यक्रममा सरुवा भएका आएका पौडेल र जान लागेका प्रधानलाई कर्मचारी तथा जनप्रतिनीधिहरुले मायाँको चिनो दिएका थिए ।

पालिका प्रेस
थप जानकारी