हेटौँडा उपमहानगरपालिकाले आन्तरिक आयतर्फको राजश्व संकलननमा लक्ष्य भेटाउन नसकेको पालिकाले जनाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको ६५ प्रतिशतमात्र आन्तरिक आय संकलन गर्न सफल भएको राजश्व शाखाले जनाएको छ ।

उपमहानगरपालिकाले ६९ करोड ८३ लाख ३७ हजार राजस्व संकलनको अनुमान गरेकोमा ४५ करोड २९ लाख ३९ हजार रुपैयाँमात्र संकलन गर्न सफल भएको छ । यसै अवधिमा भएको जेनजी आन्दोलन तथा राजमार्ग फराकिलो पार्नेक्रममा व्यवसायीहरु पलायन भएकाले राजस्व केही घटेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । राजस्वको रुपमा उपमहानगरपालिकाले सबैभन्दा बढी सम्पत्ति कर प्राप्त गरेको छ । सम्पत्ति करबापत ९ करोड ८७ लाख ६८ हजार रुपैयाँ राजस्व उठेको उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी बहाल कर शीर्षकमा ६ करोड ८८ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसबाहेक उपमहानगरपालिकाले पूर्वाधार सेवाको उपयोगमा लागेको करबापत ५ करोड ३४ लाख ७९ हजार, सिफारिस दस्तुरबापत २ करोड ९६ लाख ३१ हजार, नक्सापास बापत २ करोड १७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको उपमहानगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

अन्य शेवा शुल्क तथा बिक्री शीर्षकमा २ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । यस्तै, वहाल बिरौटी करबापत ३ करोड ३० लाख ३० हजार राजस्व संकलन भएको छ भने दहत्तर बहत्तर अर्थात् स्थानीय प्राकृतिक सम्पदाहरु बिक्री वा प्रयोगबापत प्राप्त राजस्व ७२ लाखभन्दा बढी रहेको छ । विभिन्न प्रशासनिक दण्ड, जरिवाना र जफतबापत ५५ लाख ८७ हजार, बाँडफाँटबाट प्राप्त वन रोयल्टी २४ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

यस अवधिमा राजस्व शीर्षकहरुमा बेरुजु ४४ लाख ३१ हजार देखिएको छ । आय शीर्षकमै बेरुजु ४४ लाखभन्दा बढी देखिँदा र नियमित आन्तरिक लेखापरीक्षण पनि नगर्दा व्यय शीर्षकको बेरुजु स्पष्ट हुन सकेको छैन । अनुमानित राजस्वमा गिरावट आइरहेको बेलामा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यक्रममा भने तोकिएको सिलिङभन्दा प्रतिवडा १ करोड थप गरी बजेट खर्च गर्न विनियोजन गरेको छ ।

पालिका प्रेस
थप जानकारी