मकवानपुरको दशमध्ये नौवटा स्थानीय तहले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट आ–आफ्नो सभामा पेश गरेका छन् । स्थानीय तहले आगामि आर्थिक वर्षको बजेट प्रत्येक १० असारभित्र सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । जिल्लामा राक्सिराङ गाउँपालिका बाहेक सबै स्थानीय तहले नीति, कार्यक्रम र बजेट सभामा पेश गरेका हुन् । बजेट पेश गर्ने नौं वटा पालिकाको कुल ३३ अर्ब ६५ करोड ३७ लाख ७३ हजार बजेट सभामा पेश भएको हो । पेश भएका मध्ये अधिकांश स्थानीय तहले पारित पनि गरिसकेका छन् ।
भौगोलिक दृष्टिले सबैभन्दा सानो इन्द्रसरोवर गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ४२ करोड २ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट सभामा पेश गरेको छ । इन्द्रसरोवरको ९ असारमा भएको १७ औं गाउँसभा मार्फत बजेट पेश गरेको हो । जिल्लामै जनसंख्या र भुगोलका हिसाबले इन्द्रसरोवर सानो पालिका हो । इन्द्रसरोवरको जम्मा ५ वटा मात्र वडा रहेको छ । पालिकाले पारित गरेको नीति तथा कार्यक्रममा कुलेखानी जलाशय इन्द्रसरोवरको संरक्षण, पर्यटन पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई जोड दिएको छ । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले १७औं गाउँ सभामा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा मानव निर्मित ताल कुलेखानी जलायश पालिकाको आर्थिक विकासको मेरुदण्ड भएकाले यसको संरक्षण र सम्वद्र्धनमा पालिकाले आवश्यक लगानी गर्ने उल्लेख गरेको छ ।
मानव विकास सूचांङ्कमा जिल्लामै कमजोर विकट कैलाश गाउँपालिकाले आगामि वर्षका लागि ५५ करोड ८४ लाख ६९ हजारको बजेट सभामा पेश गरेको छ । १० असारमा बसेको १८औं गाउँसभाले उक्त बजेटसहित र नीति तथा कार्यक्रम समेत पेश गरिएको थियो । गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित विभिन्न कार्यक्रम गरिनुका साथै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएका छन् । नीति कार्यक्रममा एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणाका लागि आवश्यक कार्य गरिने बताए । कृषि क्षेत्रमा रैथाने बाली खेतीको संरक्षण र विस्तार गरिने, बाँझो जमीन नराखौं, उत्पादन बढाऔँ भन्ने हेतुका साथ कृषिलाई आधुनिक र व्यवसायिक बनाउने बताए ।

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १९औँ अधिवेशनको दोस्रो बैठकमा १० असारमा उपाध्यक्ष सीता पुलामीमगरले चालु आर्थिक वर्षको तुलनामा १० करोड ८५ लाख रुपैयाँ बढीको आम्दानी खर्चको अनुमान प्रस्तुत गरेकी हुन् । आगामी वर्षको बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकास क्षेत्रमा रहेको छ । गाउँपालिकाले पूर्वाधार विकासका लागि ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.४२ प्रतिशत छुट्याएको छ । सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ अर्थात २८.५९ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वका लागि १४ करोड ६६ लाख ७० हजार रुपैयाँ अर्थात १४.८८ प्रतिशत र वित्तीय व्यवस्था, सुशासन तथा संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपैयाँ अर्थात १४.०५ प्रतिशत विनियोजन गरिएको छ ।
मकवानपुरको एक मात्र उपमहानगरपालिका हेटौंडाले २ अर्ब ८५ करोड ५ लाख रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट घटाएर आगामी आर्थिक वर्षको लागि बजेट प्रस्ताव गरेको हो । नगरसभामा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि भवन निर्माण ईजाजत प्रक्रिया छिटो छरितो ढंगबाट सम्पादन गर्नका लागि विद्युतीय भवन ईजाजत प्रणाली संचालनमा ल्याउने भएको छ । हेटौंडा उपमहानगरपालिकाको १९औं नगरसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने उद्देश्यले २ सय विगाहा क्षेत्रफलमा डूागन तथा मेवा खेतीका लगानी विस्तार गर्ने जनाएको छ ।
जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । रैथाने बीउ संरक्षण तथा सम्वर्धनका लागि दिदीबहिनी बीउ बैंक कार्यक्रम संचालन गर्ने जनाएको छ । मेयर मीनाकुमारी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सीमान्तकृत किसानलाई खेती प्रणालीमा सहजीकरणका लागि हल गोरु पालन प्रोत्साहन कार्यक्रम उल्लेख छ । प्रस्तुत कार्यक्रममा संघीय र प्रदेश सरकारको समन्वयमा उपमहानगरपालिका भित्र मिनि चिडियाखाना स्थापना गर्ने जनाएको
छ ।
बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३÷८४ का लागि ७३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले उक्त बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ । प्रस्तुत बजेटमा चालूतर्फ ४७ करोड २९ लाख चार हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष तिमल्सिनाका अनुसार सामाजिक विकास क्षेत्रका लागि ३५ करोड २८ लाख ६५ हजार रुपैयाँ छुट्याइएको छ ।
यस्तै, आर्थिक विकासतर्फ ६ करोड पाँच लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ३० करोड ९० लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । यसअन्तर्गत बागमती फुटबल एकेडेमी सञ्चालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने राष्टिूय बागमती गोल्डकप प्रतियोगिता सञ्चालनका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रका कार्यक्रमका लागि मात्रै कुल पाँच करोड १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी वर्षको बजेट तथा कार्यक्रम अघि सारेको हो । ९ असारमा सम्पन्न गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्टिूय आकांक्षालाई आत्मसात् गर्दै ‘समृद्ध बकैया’ निर्माण गर्ने लक्ष्यका साथ बजेट तर्जुमा गरिएको बताए । सीमित स्रोत र साधनका बाबजुद गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह सुधार तथा स्थानीय उत्पादन वृद्धिलाई केन्द्रमा राखेर बजेट तयार गरेको उनको भनाइ छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ अर्थात् ७१.४३ प्रतिशत र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ अर्थात् २८.५७ प्रतिशत खर्च गर्ने प्रस्ताव गरेको छ । बजेटको ठुलो हिस्सा सेवा प्रवाह, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता क्षेत्रमा केन्द्रित गरिएको छ । जिल्लाको भीमफेदी गाउँपालिकाले ८३ करोड १ लाख ६२ हजार ३ सय बजेट सभामा पेश गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको चौधौं गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन र वातावरण संरक्षणलाई विकासका मुख्य आधारस्तम्भका रूपमा अघि बढाइने उल्लेख गरिएको छ ।
प्रस्तावित बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार रुपैयाँ अर्थात ६०.३५ प्रतिशत चालु खर्च तथा २८ करोड ८५ लाख रुपैयाँ अर्थात ३९.६५ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने, रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार तथा किसान परिचयपत्र कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्