मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले ५ नं वडाको विकासमा पर्यटन क्षेत्र सम्भावनायुक्त रहेको बताएका छन् । ५ नं वडा कार्यालय बसन्तपुरमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका सबालहरुको जबाफ दिँदै उनले गाउँपालिकाले ५ नं वडामा पर्यटन विकासका लागि भौतिक पूर्वाधारहरु निर्माणमा लगानी सुरु गरिसकेको बताए । उनले पर्सा राष्ट्रिय निकुन्जबाट आउने वन्यजन्तुलाई नजिकबाट हेर्नका लागि हालैमात्र ठूला ठूला तीनवटा मचान निर्माण गरिएको स्मरण गराए ।
उनले ५ नं वडामा दूध चिस्यान केन्द्र स्थापना गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । दुध उत्पादक किसानहरुले केही बर्षयता निरन्तर भुक्तानी प्राप्त गरिरहेको र दैनिक १५ हजार लिटर दुध मनहरी गाउँपालिकाले उत्पादन गरिरहेको प्रसंग कोट्याउँदै अध्यक्ष कालाखेतीले ५ नं वडाको हकमा कृषि, पशु र पर्यटनलाई जोडेर विकास गर्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा जबाफ दिँदै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले कृषि मलको उपलब्धताको बिषय स्थानीय सरकारको मात्रै नभई संघीय सरकारको आपूर्ति व्यवस्थापनमा भइरहेको कमजोरीले समयमै किसानले मल पाउने अबस्था नरहेको बताए । स्थानीय सरकारले बितरणमा सहजीकरण मात्रै गरिदिएको भन्दै उपाध्यक्ष मगरले किसानको हितका निम्ति मल, बीऊ बिजनको व्यवस्थापनमा संघीय र प्रदेश सरकार पनि बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जेन्जी आन्दोलनपछि सबै पालिकाहरुले बजेट संशोधन गरेपनि मनहरी गाउँपालिकाले गाउँसभाबाट पास भएको बजेट संशोधन नगरेको स्पष्ट पार्नुभयो । जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा योजनाहरु कटौती नगर्ने नीति अवलम्वन गर्दा आन्तरिक स्रोत अन्तर्गतका बजेट कार्यान्वयन हुँदा भुक्तानी ढिलाइ भइरहेको उनको भनाई थियो ।
शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले शिक्षाको गुणस्तर बृद्धिका निम्ति गाउँपालिकाले काम गरिरहेको बताए । यदाकदा विद्यालयमा विभिन्न शिर्षकहरुमा शुल्क लिएको भन्ने गुनासाहरु आफूले पनि सुनेको भन्दै शिक्षालाई प्राथमिकता राखेर समुदायले सोच्नुपर्ने उनको भनाइ थियो । ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारीले समग्र वडाको विकासका लागि दिनरात नभनी काम गरिएको प्रसंग कोट्याउँदै जनताले गुनासो गर्दै हिँड्नुपर्ने अबस्था नरहेको र वडाको बजेटबाट सम्बोधन नभएका योजनाहरु माथिल्लो तहमार्फत पनि गर्नका लागि आवश्यक सक्रियता देखाइएको बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु समेतको सहभागिता थियो । ५ नं वडाध्यक्ष अधिकारीको सभाध्यक्षतामा भएको सार्बजनिक सुनुवाई कार्यक्रमको सम्बन्धमा गाउँबेसी क्रिएसन प्रालिका अध्यक्ष शिवकुमार काशीले प्रष्ट पारेका थिए । सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले सार्बजनिक सुनुवाईबारे गरिएको सर्वेक्षणको नतिजा सार्बजनिक गरी सहजीकरण गरेका थिए ।



























































प्रतिक्रिया दिनुहोस्