निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सम्भावित मिति प्रस्ताव गरे पनि सरकारले निर्णय लिइसकेको छैन । राजनीतिक दलहरूसँग छलफल गरेपछि मिति घोषणा गर्ने जवाफ सरकारले आयोगलाई दिएको छ । तर वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न दलहरू एकमत जस्तै देखिएका छन् । योसँगै प्रदेश र प्रतिनिधिसभाको अर्ली इलेक्सनको चर्चा भने टर्दै गएको छ ।
निर्वाचन आयोगले सबै स्थानीय तहको निर्वाचन वैशाख १४ मा एकै पटक गर्न र दुई चरणमा गर्ने भए १४ र २२ गतेका लागि मिति तय गर्न सरकारलाई सुझाव दिइसकेको छ । आयोगका पदाधिकारीले पुष ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको प्रस्ताव गरे पनि सरकारले अहिलेसम्म कुनै जवाफ दिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्धसहित अन्य दलसँग छलफल गरेर मितिका बारेमा टुंगो लगाउने जवाफ आयोगलाई दिएका छन् ।
विषेश परिस्थितिमा बाहेक वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्न दबाब आयोगलाई छ । किनभने २०७९ साल जेठ ५ गते स्थानीय तहका पदाधिकारीको पदावधि सकिन्छ । वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न सबै दल एकमत देखिन्छन् ।
स्थानीय तहको चुनाव वैशाखभित्र गर्न एकमत देखिएका दलहरू प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भने विभाजित छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको संसद् गतिहीन भएको भन्दै कार्यकाल अघि नै प्रदेश र प्रतिनिधिसभाको चुनावमा जानुपर्ने भनिरहेको छ । त्यस्तै, सत्ताकै नेतृत्व गरिहेको दल नेपाली कांग्रेसका केही नेताले अर्ली इलेक्सनको कुरा उठाइरहेका छन् ।
सत्ता गठबन्धमा आबद्ध अन्य दल भने संसदको कार्यकाल सकिएपछि मात्र प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्नुपर्नेमा एकमत छन् । सतहमा देखिएका तथ्यहरूलाई मध्यनजर गर्दा तीन तहको चुनाव एकै पटक गर्ने चर्चा भने अब टरेको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्