
नेपाली चलचित्र उद्योगका एक अग्रपंक्तिका व्यक्ति हुन् शोभित बस्नेत । कुनै पनि उद्योग वा व्यवसाय नाफा आर्जनका लागि गरिन्छ । तर शोभित बस्नेत अहिले सामाजिक काममा क्रियाशील छन् । आर्थिक र समामाजिक हिसाबले कमजोर व्यक्ति तथा परिवारलाई बस्नेत सहयोग जुटाइ रहेका छन् । यसका लागि उनी ‘हामी छौं’ नामक डकुड्रामा छायाँङ्कन गरिरहेका छन् ।
बस्नेतको डकुड्रामा टिमले थाहा नगरपालिका वडा नम्बर ४ की सुन्तली विश्वकर्मालाई सहयोग गरेको छ । टिमले ५ साउनमा उनकै घरमा पुगेर नगद २५ हजार रुपियाँ सहयोग गरेको हो । डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको उनले बताए । बस्नेतले भने–‘छनोटको क्रममा थाहा नगरपालिकामा २ जनालाई छान्यौं ।’
सुन्तलीलाई डकुड्रामा टोलीले ५ असारमा हयोगका लागि छनोट गरेको हो । आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने नै डकुड्रामाको उद्देश्य रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन् ।
डकुड्रामा निर्माण टिमले यस अघि थाहा नगरपालिका वडा नम्बर ४ कै चिनीमायाँ नेपालीलाई २५ हजार नगदसहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरिसकेको छ । उनका लागि अब बैंक खातामा सहयोग रकम जम्मा हुने प्रस्तुतकर्ता शोभित बस्नेतले सुनाए । यसका लागि चिनीमैयाँ नेपाली र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको संयुक्त नाममा कामना सेवा विकास बैंकमा खाता समेत खोलिएको छ ।
सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्। रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्