नेपाली कम्युनिस्ट पार्टी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले आमजनताको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौंडा उपमहानगर पालिका–११ का कार्यकर्तासँगको अन्तरक्रियामा उनले एमाले– कांग्रेसको बहुमत सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण देशमा जेनजी विद्रोह भएको दाबी गरे ।
विष्टले जेनजीको भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले गर्ने बताए । उनले जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रुपान्तरण म्भव हुने धारणा राखे । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तानले देशब्यापी पाँचकुने ताराको माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरिन् । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको नीति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए । हेटौंडा–११ लाई असली कम्युनिस्टको किल्ला बनाउन जरुरी रहेको उनले बताए ।
शहीद स्मारक नजिक रहेको थाहा भवनमा सम्पन्न कार्यक्रममा नेता सागर बानियाँले यो पटक मतदाताले तारा चुनाव चिह्नमा मतदान गर्न उत्सुक रहेको बताए । बानियाँले उम्मेदवार विष्टलाई जिताउन स्थानीय स्वतस्फूर्त चुनावप्रचारमा सक्रिय भएर लागि रहेको बताए । ११ नम्बर पार्टी संयोजक रामकृष्ण बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरु ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँको संयोजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडास्तरीय प्रचारप्रशार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चौलागाई रहेका छन् । उमेदवार विष्टले थाहा नगर प्रमुख हुँदा गरेको कामको समेत स्थानीयस्तरमा लोकप्रिय भएको पाइएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्