नेकपा (एमाले) का नेता तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेशकुमार बर्तौलाले राक्सिराङको दीर्घकालीन विकासका लागि लागुऔषधको विकल्पमा शिक्षा र चेतनाको बीउ रोप्नुपर्ने बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिका–७, जुरेथुम घैयाबारीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बर्तौलाले आफू संसदमा पुगे जनमुखी कानुन निर्माणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । अघिल्लो कार्यकालमा पनि जनपक्षीय आवाज उठाएको उल्लेख गर्दै उनले सडक, पुल र खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

उनले चितवनको भण्डारादेखि राक्सिराङको सिलिङे हुँदै धादिङ जोड्ने ‘चेपाङ मार्ग’ तथा ग्याक्पती र सिलिङे खानेपानी आयोजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाए । नेकपा (एमाले) का निर्वाचन फोकल पर्सन आशिष् अस्लामीका अनुसार बर्तौलाले अघिल्लो कार्यकालमा बजेट विनियोजन भए पनि सरकार परिवर्तन र राजनीतिक अस्थिरताका कारण केही योजना रोकिएकोप्रति दुःख व्यक्त गरेका थिए।

राक्सिराङमा व्याप्त गरिबीको चर्चा गर्दै बर्तौलाले बिहान–बेलुकीको हातमुख जोर्न भारी बोक्ने क्रममा कानुनी झमेलामा परेर कारागार पुगेका स्थानीयलाई रिहा गरिनुपर्ने माग गरे। गरिबीका कारण नागरिकहरू अपराधीकरण हुनु दुखद रहेको उल्लेख गर्दै उनले अब राक्सिराङ्गमा लागुऔषध होइन, शिक्षा र चेतनाको खेती गर्नुपर्ने बताए। साथै उनले लंका र भिम्बुङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरे।

कार्यक्रममा संविधान सभा सदस्य तथा एमाले नेता राजाराम स्याङ्तानले जात र धर्मका नाममा समाज विभाजन गर्न खोज्ने तत्वहरूबाट सचेत रहन आग्रह गरे। एमाले नेता गोबिन्दराम चेपाङले चेपाङ भाषामै सम्बोधन गर्दै एमालेले यस क्षेत्रमा विद्युतीकरण, स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरेको दाबी गरे। महिला नेतृ राममायाँ प्रजाले एमालेका संगठित सदस्यहरू निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने बताइन्। राक्सिराङ्ग गाउँ कमिटीका अध्यक्ष रोहन लामाले बर्तौला जनताको दुःख–सुखमा साथ दिने नेता भएको टिप्पणी गरे।

भेलाअघि उम्मेदवार बर्तौलाले नेकपा (एमाले) राक्सिराङ गाउँ कमिटीका सचिव कमल मुक्तानकी स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि उनले मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्।

पालिका प्रेस
थप जानकारी