नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू संसदमा केवल उपस्थिति जनाउन मात्र नभई प्रभावकारी कानून निर्माण र जनताका विकासका चाहना पूरा गर्न चुनावी मैदानमा होमिएको बताएकाछन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को माथिल्लो भेगमा २५ माघमा आयोजित मतदाता भेटघाट तथा वातचित गर्दै बर्तौलाले यूतो बलर्ताका हुन् । “संसदमा निदाउन जाने होइन, देशका लागि आवश्यक र जनताका पक्षमा कानून बनाउने मान्छे चाहिन्छ । त्यो भूमिका निर्वाह गर्न म पूर्ण रूपमा सक्षम छु”, उनले भने ।
भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकट भूगोलका कारण भोग्नुपरेका समस्याहरूबारे उम्मेदवार बर्तौलाको ध्यानाकर्षण गराएका थिए । सिरानचोकका युवा रामचन्द्र ब्लोनले उपमहानगरभित्रै भएर पनि नेपाल टेलिकमको टावर नहुँदा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको र वस्तीपुर–कुवापानी–सिरानचोक सडक निर्माणलाई प्राथमिकता दिन माग गरे ।
त्यस्तै, भालुखोलाका काली बहादुर घलानले वडा कार्यालय पुग्नै १२ सय रुपैयाँ खर्चनुपर्ने बाध्यता सुनाउँदै सडक पूर्वाधार र २३५ घरधुरीको भूमिहीन सुकुम्बासी समस्या समाधान गरिदिन आग्रह गरे । आजको निर्वाचन प्रचार(प्रसार र मतदाता भेटघाट कार्यक्रमका बारेमा नेकपा एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले स्थानीय मिडियालाई विस्तृत जानकारी गराए ।
स्थानीयका गुनासो सुनेपछि उम्मेदवार बर्तौलाले भूगोल जटिल भए पनि विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले भने, “सांसदको मुख्य काम नीति निर्माण भए पनि म यहाँको सडक, खानेपानी र टेलिकम टावरका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछु । तपाईंका एजेन्डाहरू सरकारले सुन्ने गरी संसदमा उठाउनेछु ।”

बर्तौलाले आगामी फागुन २१ गतेको निर्वाचनलाई ुदेश बनाउने र देश जलाउनेु शक्तिहरूबीचको लडाइँको रूपमा व्याख्या गरे । उनले विगतको जनमतविपरीत संसद भंग गरिएकाले अहिलेको निर्वाचन राष्ट्रियता र स्वाधीनता रक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।
भेटघाटमा हेटौंडा–१९ का वडा अध्यक्ष नवराज सुवेदीले भूमिहीनहरूको लगत संकलन भइसकेको भए तापनि विगतको विध्वंसात्मक आन्दोलनका क्रममा फाइलहरू जलाइएकाले समस्या भएको स्पष्ट पारे । उनले पुनः लगत संकलन गरी सुकुम्बासी समस्या समाधान गर्न र खानेपानी परियोजनालाई पूर्णता दिन पहल भइरहेको जानकारी दिए ।
कार्यक्रममा बर्तौलाले स्थानीय ज्येष्ठ नागरिक पिङ्गलादेवी भण्डारीबाट टीका र आशीर्वाद ग्रहण गरी सिरानचोक, ज्यामिरे, बसिने र भालुखोला लगायतका क्षेत्रमा पुगी मतदाताहरूसँग प्रत्यक्ष सम्वाद गरेका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्