गाँजा पछिल्लो समय निकै चर्चाको विषय बनेको छ । विगतमा आम नागरिकको जनजीविकासँग जोडिएको र राजश्वको महत्त्वपूर्ण स्रोतको रूपमा समेत थियो । तर गाँजा तथा गाँजाजन्य पदार्थमाथि एकाएक प्रतिबन्ध लाग्यो । वनस्पतिजन्य र औषधिजन्य उपयोगिताको बारेमा वैज्ञानिक अनुसन्धानसमेत हुन पाएन । प्रतिबन्धका कारण सिंहदरवार वैद्यखानाबाट गाँजाजन्य पदार्थ प्रयोग गरेर उत्पादन गरिने आयुर्वेदिक औषधिहरूको उत्पादन पनि प्रभावित भयो ।
४५ वर्ष भइसक्यो नेपालमा गाँजा वैधानिक रूपमा प्रयोग नगरिएको । संसारका थुप्रै देशले गाँजालाई औषधीय प्रयोजनको लागि र केहीले त मनोरञ्जनात्मक प्रयोगको लागि मान्यता दिइ सके । एउटा पुस्ता नै यसको उपयोगिताबारे बेखबर भइरहँदा गाँजामाथिको प्रतिबन्ध फुकाउनु पर्ने माग नेपालमा उठिरहको छ ।
वनस्पति विभाग, काठमाडौँ विश्वविद्यालयलगायतले गाँजाको अनुसन्धान गर्न र अन्य थुप्रै संघसंस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति माग गरिरहेका पनि छन् । काठमाडौँ विश्वविद्यालयका अनुसार हजारौँ वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको छ । आयुर्वेदमा समेत गाँजामा आधारित उपचारको बारेमा उल्लेख गरेको बताइन्छ ।
विश्वमा अहिलेसम्म गाँजाको डोज नमिलेका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन तर युएनओडिसीको प्रतिवेदनले अन्य लागु औषधको डोज नमिलेका कारण सन् २०२० मा मात्रै विश्वमा ९० हजार मानिसको ज्यान गएको देखाउँछ ।
हाल गृह मन्त्रालयले औषधिजन्य प्रयोजनको लागि गाँजा खुलाउन अध्यादेश ल्याउने तयारी गरिरहेको छ । गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा समेत गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तयार गर्ने उल्लेख रहेको लागु औषध नियन्त्रण शाखा प्रमुख गोकर्णप्रसाद उपाध्यायको भनाई छ ।
उपाध्याय थप्छन् ‘हरेक नयाँ कामले नयाँ चुनौती पनि सँगै ल्याउने भएकोले गाँजा तथा गाँजाजन्य पदार्थको प्रयोग सम्बन्धी कानून बन्दा त्यसको कार्यान्वयनमा चुनौती थपिने हुन्छ । अहिले पूर्ण प्रतिबन्ध हुँदा समेत करिब ८० प्रतिशत सुरुआती लागु औषध प्रयोगकर्ताले गाँजा प्रयोग गरिरहेको सन्दर्भमा भोलिका दिनमा यसतर्फ प्रशासन र नियमनकारी अन्य निकायले थप सतर्कता अपनाउनै पर्ने हुन्छ ।’
गृह स्रोतका अनुसार हाल गाँजासँग जोडिएका मुद्दामा थुप्रै संख्यामा युवाहरू कारागारमा छन् । नियन्त्रित रूपमा गाँजा खुलेपछि आगामी दिनमा यस्ता युवाहरू अनाहक कारागारमा बस्नुपर्ने छैन । उनीहरू उत्पादनशील कार्यमा लाग्न सक्नेछन् ।
ढिलो वा चाँडो गाँजा नियन्त्रित रूपमा खुल्छ । त्यसैले सचेत नागरिकहरूको सोको लागि पूर्व तयारी अवस्थामा रहन र गाँजाको बहुआयामिक फाइदा कसरी लिन सकिन्छ भन्ने तर्फ ध्यान दिनु नै सबैको लागि फाइदाजनक हुने देखिन्छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्