कालिमाटी गाउँपालिकाको कार्यालयमा १२ फागुन राति तोडफोड गरिएको छ । अज्ञात समूहले कालिमाटी गाउँपालिकाको कार्यालय, वडा नं ३ को कार्यालय, जाल्पा सामुदायिक लघुवित्त संस्था, पुतलीबजारको एक स्थानीय पसल र गंगामाला भगवती मन्दिरमा तोडफोड गरेका हुन् ।

तोडफोड गर्नुको कारण भने खुल्न सकेको छैन । कालिमाटी गाउँपालिकाको कार्यालयको प्रशासकिय भवनको सम्पूर्ण ढोकाका ताल्चा फोडेर प्रमुख प्रशासकीय, अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष लगायतका विभिन्न शाखामा तोडफोड गरेको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । कार्यालयमा जडान गरेको सिसि क्यामरा फुटाइएको र कार्यालयको डेस्कटप कम्प्युटर चोरी भएको उनले जानकारी गराए । उनका अनुसार तोडफोडबाट कति क्षति भयो यकिन हुन सकेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलले चोरी गर्ने उदेस्यका साथ तोडफोड गरेको हुनसक्ने बताएका छन् । अज्ञात समूहले जाल्पा सामुदायिक लघुवित्तिय संस्थाबाट तीन लाख नगद चोरी भएको र गंगामाला मन्दिरमा चढाएको भेटीसमेत चोरी गरेको भन्ने जानकारी आएको उनले जानकारी गराए ।

उनका अनुसार घटनास्थललाई प्रहरीले सुरक्षित गरी अनुसन्धान थालेको छ । कार्यालयलगायत अन्यत्र तोडफोड गर्नेको खोजी भइरहेको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी