काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षणमा संघीय सरकारले चासो नदिएको आरोप लगाएका छन्। सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोअनुसार काम नगरेको उनको आरोप छ।

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे। महानगरपालिकाले सम्पदाको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भईरहेको दोहोर्‍याएका थिए।

‘हामीले चुनावको बेला घोषणा गरेका थियौं। काठमाडौं एउता ऐतिहासिक शहर, सांस्कृतिक शहर। यसलाई जीवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं। यसलाई संरक्षण गर्ने, प्रवर्द्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीति लियौं। चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं,’ मेयर शाक्यले भने, ‘अहिले पनि यो सम्पदान भनेको राज्यको सम्पत्ति हो। यो पहिलो गठियारहरुले बनाएका थिए । त्यो गुठियारले अहिले संरक्षण गर्न नसकिरहेको अवस्थामा राज्यको उपस्थिति त्यहाँ हुनुपर्छ । राज्यले संरक्षण पनि गर्ने हो । त्यसका लागि हामीले आर्थिक पक्ष आफूहरुले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको काम गठियारलाई नै दिने नीति लिएका छौं । यसको संरक्षणको लागि संघीय सरकारले जिम्मेवारी लिएन । हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं।’

आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। पहिलो किस्ताबापत २५ लाख ११ हजार निकासा भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साँढे १ करोड बजेट लाग्नेछ। २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ।

पालिका प्रेस
थप जानकारी