नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
दुई दिने केन्द्रीय कमिटीको बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए । बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेद्वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्वारको छनोट गर्नेछ । एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो ।
एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताए । स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उनको भनाइ छ । ‘स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महशुस गरे भने त्यो भन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्छन् । त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं,’ रिजालले भने ।
पार्टीमा बढिरहेको जनमतको लहर कम गर्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी राष्ट्रिय नीति बनाएर अघि नबढ्ने उनले प्रष्ट पारे । ‘हामी आफ्नो पार्टीको जनमत पढाउने, पार्टीमा बढिरहेको लहरलाई रोक्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी कथित तालमेलको राष्ट्रिय नीति अपनाउँदैनौँ।’



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्