

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।
‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ’, उनले भने, ‘मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ ।
विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ ।
उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ई(पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ ।
‘शिक्षाको विकासलाई नगरले प्राविधिक शिक्षा, प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षालाई जोड दिएको छ’, उनले भने, ‘शिक्षा सुधारका लागि विद्यालयलाई भौतिकरुपमा सम्पन्न, शिक्षक(कर्मचारी पर्याप्त र सरोकारवाला पक्षको सकारात्मक सहयोग जुटाउन कार्यक्रम ल्याएको हो ।’
हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्