थाहा नगरपालिकाको शिखरकोट स्थित शंकर होटलमा बालक्लवका पदाधिकारीहरुका लागि बाल अधिकार र बालक्लब सञ्चालन सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । नगरपालिकाको महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण शाखाको आयोजनामा तालिम शुरु भएको हो ।

तालिममा थाहानगरमा रहेका १२ वटा वडामा गठित बालक्लवका पदाधिकारीहरुको सहभागिता रहेको महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । नगरपालिकाका सबै १२ वटै वडाका २४ सहभागी बालबालिकाहरुलाई कुमार नेगीले प्रशिक्षण दिइरहेका छन् ।

  तालिमको एक समारोहकाबीच थाहानगर उपप्रमुख भरत गोपालीले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख गोपालीले नगर क्षेत्रका बालबालिकाको बालअधिकारको विषयमा गम्भिर भएर लागिपर्ने बताए । उनले पालिकालाई छिट्टै बालमैत्री घोषणाको तयारीमा नगर जुटीरहेको बताउँदै यसको लागि सबैपक्षको सहयोग आवश्यक रहेको औल्याए । बालअधिकार उल्लंघनका घटनालाई न्यूनिकरण गर्नका लागि सबैको निगरानी आवश्यक रहेको उपप्रमुख गोपालीको भनाइ थियो । उनले तालिम सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमका सहभागि तथा अतिथीहरुलाई सामाजिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य पवित्रासिंह ठकुरले स्वागत गरेकी थिइन् । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, न्युभिजन पब्लिक एकेडेमी घर्तिखोलाका प्रिन्सिपल सुदर्शन कार्की, थाहानगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

थाहानगर बालक्लवका अध्यक्ष खुशी गोपालीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा कार्यपालिका सादस्य जनक बहादुर कामी, सुचना शाखा प्रमुख सुरज कुमार भुजेल, शिक्षा समिति सदस्य कविता कार्की, तालिम सहजकर्ता कुमार नेगी, सामाजिक विकास समिति संयोजक दिनेश बल, सूचना प्रविधि अधिकृत भागिरथ कार्की, लगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी