बागमती प्रदेशमा वर्षेनी बढ्दै गइरहेको क्षयरोगीको पहिचान र उपचारका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेश सरकारअन्तर्गत् स्वास्थ्य निर्देशनालय हेटौंडाले प्रदेशका १३ जिल्लामा क्षयरोगीको पहिचान र उपचारमा जोड दिइने बताएको हो ।

हेटौंडामा १० चैत्रमा सञ्चारकर्मी तथा सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा निर्देशनालयले बागमती प्रदेशभरको क्षयरोगीको अवस्था बारे जानकारी दिएको थियो । बागमती प्रदेशमा क्षयरोग लागेका रोगी पत्ता लगाउने कार्यमा आव २०७८/०७९ मा मकवानपुरमा ६ सय ८० जना क्षयरोगी पहिचान भएका छन् । पहिचान भएका क्षयरोगीमध्ये ३ प्रतिशतको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार दोलखामा ६२ जना, सिन्धुपाल्चोकमा २ सय ३५ जना, रसुवामा ४० जना, धादिङमा तीन सय जना, नुवाकोटमा २ सय १७ जना रोगी रहेको बताए । त्यस्तै, काठमाडौंमा तीन हजार ६ सय ७३ जना, भक्तपुरमा ६ सय ५८ जना, ललितपुरमा ९ सय १ जना, काभ्रेमा तीन सय जना, रामेछापमा १ सय १५ जना, सिन्धुलीमा ३ सय ७४ जना र चितवनमा एक हजार १ सय ९७ जना क्षयरोगी रहेको जनाइएको छ । बागमती प्रदेशभरमा १४ हजार ६ सय १९ पत्ता लगाउने लक्ष्य रहे पनि ८ हजार ७ सय ५२ जना रोगी पत्ता लगाइएको स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन जीतेन्द्रकुमार कर्णले जानकारी दिए ।

नेपालमा वार्षिक सरदर १६ हजार क्षयरोगीको मृत्यु हुने एक तथ्यांकले देखाएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा वार्षिक ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाको मृत्यु हुने देखाएको छ । सरदर प्रतिदिन १ सय २३ नयाँ रोगी पत्ता लगाउने, १८ जनाको मृत्यु हुने र ३४ जना हराउने गरेको स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन कर्णले बताए । क्षयरोग लाग्ने व्यक्तिको उमेर प्रायः १५ वर्षदेखि ५० वर्षसम्मको मानिसको संख्या बढिरहेको छ । नेपाल सरकारले सन् २०५० मा नेपाललाई क्षयरोग मुक्त बनाउने योजनासहित डट्स नीति ल्याएसँगै कार्य सुरुवात गरिएको निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए ।

डट्स नीतिले विरामीको प्रत्यक्ष निगरानीमा उपचार रहने हुँदा यसको प्रभावले सार्थकता पाइने श्रेष्ठ बताउँछन् । बागमती प्रदेशको चितवन र कर्णाली प्रदेशको प्युठानमा सुक्ष्म अवस्थामा रहेका क्षयरोगको अध्ययन गर्न डिआर सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठले बताए ।

पालिका प्रेस
थप जानकारी