मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ७ मा रहेको सुन्दरीदेवी माविमा शिक्षकहरुका लागि रचनात्मक सिकाइ सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी भएको छ । २४ जना शिक्षकहरुको सहभागीता रहेको कार्यशालामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

बागमती प्रदेश सरकार प्रदेश शिक्षा विकास निर्देशनालयको शैक्षिक सुधार प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत गोष्ठी भएको हो । नयाँ शैक्षिक सत्र २०८० को प्ररम्भमै भएको कार्यशाला गोष्ठीमा सिकाइ समुहका प्रबन्धक निर्देशक सुदर्शन घिमिरे र प्रशिक्षक संजय अधिकारीले विद्यालयका शिक्षकहरू सामू श्रीजनशील शिक्षणको लागि रचनात्मक शिक्षणकला विषयमा प्रस्तुतीकरण गरेका थिए ।

विद्यार्थीहरूलाई प्रभावकारी ढंगले सिकाउने विधिबारे चर्चा गर्दै सहजकर्ताहरुले अहिलेको शिक्षा प्रविधिमैत्री र बालमैत्री पनि हुनुपर्ने बताए । प्रभावकारी शिक्षणको लागि शिक्षक मात्र नभई कक्षा कोठाको व्यवस्थापनले पनि महत्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट, बसाइको सही व्यवस्थापन, शैक्षिक सामग्रीको अधिकतम प्रयोग, शिक्षकको व्यवहार कुशल सीपलगायतका कुराहरुले प्रभाव पार्ने बताए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिर्जुलाल थिङको सभाध्यक्ष्तामा भएको कार्यक्रममा थाहानगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यशाला गोष्ठीले विद्यालयका शिक्षकहरूलाई सिर्जनशील शिक्षण, प्रभावकारी प्रस्तुतीकरण र विद्यार्थीप्रति जिम्मेवार बन्न आफूहरूलाई निक्कै सहयोग गरेको अनुभव शिक्षकहरूले सुनाएका थिए । उनीहरुले कार्यशालामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् ।

पालिका प्रेस
थप जानकारी