महिला उद्यमीहरुको पहिचान, प्रवद्र्धन र विकासका लागि विभिन्न सीपमूलक तालिमको साथसाथै बीउपुँजी अनुदान र प्रविधि हस्तान्तरण गर्ने नगरपालिकाको नीति छ । सामूहिक उद्यम प्रोत्साहन गर्न उद्यमी समूह दर्ता र परिचालन पालिकाले गर्ने भएको छ । महिला सहकारी र टोल विकास संस्था मार्फत सीपमूलक, स्वरोजगारमूलक तालिम संचालन गरी स्वावलम्बी र आत्मनिर्भर नागरिक तयार गर्न जोड दिने, महिला सहकारीहरु लक्षित विशेष कार्यक्रम संचालन गर्ने नीति छ ।

चालू कोषमा रहेको रकम महिला सहकारी मार्फत मात्र परिचालन गर्दै आइरहेकोमा अब उद्यमी समूह, सीप सिकी व्यवसाय शुरु गर्ने उद्यमीहरुलाई समेत प्राथमिकतामा राखिने भएको छ । महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धी तालिमको माध्यमबाट सशक्तीकरण गर्ने, घरेलु हिंसापीडित महिलाहरुलाई न्यायमा पहुँच दिलाई आवश्यकता बमोजिम सेफहाउसमा आश्रय दिई सकेसम्म मेलमिलापको माध्यमबाट परिवारमा पुर्नस्थापना गर्ने तथा थाहानगरमा रहेका सेफहाउसहरुलाई थप व्यवस्थित गर्ने नीति छ ।

प्रदेशसँगको सहकार्यमा गृहेणी महिला सशक्तीकरण कार्यक्रम संचालन गरिने भएको छ । बेचबिखनमा परेका, बहुविवाहका कारण हेलत्व तथा विभिन्न किसीमका हिंसामा परेका महिला लक्षित जीविकोपार्जन तथा आयआर्जनका कार्यक्रममा संलग्न गराइने पालिकाको नीति छ ।

नगर बाल संरक्षण समिति, वडा बाल संरक्षण समिती लगायतका सान्दर्भिक अन्य समितिहरु बालबालिकाको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाको सक्रियता बढाउने वातावरण सृजना गर्ने, बाल सञ्जाल तथा बालक्लबमा आबद्ध बालबालिकाहरुलाई बालबालिका विरुद्धको हिंसा, बाल दुव्र्यवहार, विद्युतीय माध्यमबाट हुने यौन शोषण, बालमनोविज्ञान र मनोविमर्श जस्ता विषयमा सचेतनामुलक तालिम संचालन गर्ने तथा पालिका क्षेत्रमा कार्यन्वयन गरिने भौतिक, सामाजिक, क्रियाकलापमा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई संस्थागत रुपले बालबालिकाबाट उठाइएका सवाललाई कार्यान्वयनमा ध्यान दिइने नीति थाहा नगरपालिकाको रहेको छ ।

थाहा नगरपालिका क्षेत्रभित्र संचालित बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थाहरुमा स्तनपान कक्षको स्थापना गर्न पहल गर्ने नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी