चन्द्रागिरि नगरपालिका– ३ बालश्रममुक्त वडा घोषणा भएको छ । विशेष समारोहको आयोजना गर्दै बिहीबार सो वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ खाएर वडा बालश्रममुक्त बनाएका हुन् ।

बालश्रममुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले यो सुरुवात सबै वडालाई बालश्रममुक्त बनाएपछिमात्र रोकिने बताउनुभयो । उहाँले २०८० सालभित्र चन्द्रागिरि नगरपालिकालाई नै बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सामाजिक काम अघि बढाउने, सुशासनमैत्री कामसँगै बालबालिकाको भविष्यका लागि विभिन्न प्रकारका बजेट तथा कार्यक्रम तर्जुमा भएका छन् ।’’

नगरपालिकाले बालश्रममुक्त भएका वडाको निरन्तर अनुगमन गर्ने, उजुरी गर्ने लगायतका काम जारी राखेकाले पनि नगर पूर्ण बालमैत्री हुने विश्वास नगरवासीको छ । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको हक अधिकारको सुनिश्चितता गर्दै पढ्ने लेख्ने उमेरमा श्रम गर्न नपरोस् भन्ने उद्देश्यसहित बालश्रममुक्त वडा घोषणा भएको वडा अध्यक्ष दुर्गालाल महर्जनले बताउनुभयो । उहाँका अनुसार विगत लामो समयदेखि वडामा बालबालिकाको अवस्थाको अध्ययन गर्दै श्रममा जबरजस्ती लगाइएको बालबालिकाको उद्धार गरी घर फर्काउने तथा अभिभावक नभएका बालबालिकालाई बालविकास समाज र वर्ल्ड भिजन नेपाल, बाल रक्षा अभियानको सहकार्यमा विभिन्न सुधार गृहमा पठाउने काम गरिएको बालविकास समाजका शिक्षा अधिकृत गोविन्द विकले बताउनुभयो ।

फिल्ड अधिकृत ज्योति नगरकोटीका अनुसार नगरपालिकासँग मिलेर वडाहरूमा बालबालिकाको के अवस्था छ भनेर पहिले अनुगमन गरिएको थियो । कलकारखानामा बालबालिका छ वा छैन भनने विषयमा सम्बन्धित नगरपालिकाले प्रोफाइल बनाउँदा राखिएको थियो  । उहाँका अनुसार पहिले इट्टा भट्टामा काम गर्ने बालबालिमा धेरै थिए । त्यस्तै, कपडामा जरी भर्ने, होटलमा भाँडा माझ्ने लगाएतका काममा बालबालिका लगाइएका थिए । त्यहाँ बनेका विभिन्न कलकारखानामा पनि बालकिालका काममा लगाइएका भेटिएका थिए । अहिले इट्टा भट्टा बन्द गरिएका छन् । जसले बालबालिकाको बालश्रम बन्द भएको छ । कमजोर आर्थिक स्थितिका कारण बालबालिकालाई काममा लगाउने परिवारलाई सचेत गराउने, शिक्षाका लागि सहयोग गर्ने अभियान जारी छ ।

राष्ट्रिय बालअघिकार परिषद् सदस्य सचिव इन्द्रादेवी ढकाल, श्रम कार्यालयका प्रतिनिधि प्रतिभा गौतम लगायत नागरिक समाज, सङ्घसंस्थाका साथै सबै वडाका जनप्रतिनिधिले बालश्रमलाई निरुत्साहित गर्ने बाचा घोषणाका क्रममा गर्नुभयो ।

घोषणा अघि नगरपालिकाका विभिन्न वडाका तर्फबाट सामुदायिक तथा सामाजिक सङ्घसंस्था, स्थानीय तथा विद्यार्थीहरूसहितको बालश्रममुक्त वडामा बालमैत्री नारासहितको र्‍याली निकालिएको थियो । चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाहरूमध्ये यस अघि वडा नम्बर १४ बालश्रममुक्त वडा घोषणा भइसकेको छ ।

-thankottimes

पालिका प्रेस
थप जानकारी