कीर्तिपुर नगरपालिकाका एक वडाध्यक्षले कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड गरेका छन् । ३० कार्तिक दिउँसो वडा नम्बर ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले शाक्यको कार्यकक्षभित्र रहेको सिसाको टेबुल तोडफोड गरेका हुन् ।
नगरपालिकाका प्रशासकीय अधिकृतले आफूलाई अनावश्यक रूपमा कुराएपछि टेबुल फुटाएको उनले प्रतिक्रिया दिएका छन् । उनले आफ्नो वडामा सडक र अन्य संरचनासम्बन्धी समस्या भएको भन्दै सडक विस्तारका सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न खोजेका थिए । तर, कार्यालयमा प्रशासकीय अधिकृत थिएनन् । प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल शाखा प्रमुखहरूसँगको बैठकमा थिए ।
वडाध्यक्ष महर्जनले आफूसँग समय नलिएको र भेट्न आएकोबारे पनि थाहा नभएको प्रशासकीय अधिकृत ढकालले बताए । ‘म शाखा प्रमुखहरूसँगको बैठकमा थिएँ, मसँग उहाँले समय लिनुभएको थिएन, उहाँ भेट्न आउनुभयो भन्ने मलाई थाहा हुने कुरा भएन,’ उनले भने, ‘पछि मलाई कुर्दा टेबुल फुटाएको भन्ने सुनेँ, तर मैले उहाँलाई बोलाएर कुराएको होइन ।’ उनका अनुसार वडाध्यक्षसँगको विवाद पुरानै थियो । सडक विभागले वडा नम्बर ३ मा पर्ने सडक कालोपत्रे गर्नका लागि बजेट दिएको थियो । तर, त्यस क्षेत्रमा केही संरचना हटाएर कालोपत्रे गर्नुपर्ने माग वडाध्यक्षको थियो ।
नगरपालिकाले पनि सोहीअनुसार सूचना जारी गरेर संरचना हटाउने तयारी गरिरहेको छ । वडाध्यक्षले आफूले चाहेअनुसार नभएको भन्दै असहमति जनाउँदै आएका थिए ।
वडाध्यक्ष सुवीन्द्र महर्जनले विवाद ठुलो विषय नभएको, तर धेरै बेर कुर्नु परेकाले रिस उठेको बताए । ‘सानो कुरामा पनि उहाँले मलाई कुराउनुभयो, अन्य व्यक्तिहरू पनि कुर्नु परेकोमा रिसाएका थिए, जनप्रतिनिधिलाई दुई घण्टा कुराउने विषय राम्रो होइन, कुरैकुरामा सिसाको टेबुल हल्का धकेल्दा फुटेको हो,’ उनले भने, ‘त्यस्तो तोडफोड होइन ।’



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्