मकवानपुरको थाहा नगरपालिका तथा छिमेकी पालिकाहरुलाई संघीय राजधानी काठमाण्डौं जोड्ने गणेशमान सिंह मार्ग (चित्लाङ चन्द्रागिरि–थानकोट सडक) निर्माणलाई पूर्णता दिन संघीय सरकार तत्पर रहेको शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताएका छन् । संघीय सरकारका उपप्रधानमन्त्री समेत रहेका सिंहले पालिकाहरुलाई काठमाण्डौं जोड्ने मात्र नभई संघ र प्रदेश सरकारलाई जोड्ने छोटो दुरीमा मार्ग पनि यहि भएकोले बेग्लै महत्व रहेको उल्लेख गरे । नेपाली काँग्रेस थाहानगरले ६ पुसमा चित्लाङमा आयोजना गरेको गणेशमान सिंह मार्गको अवलोकन तथा भेटघाट कार्यक्रममा मन्त्री सिंहले यस्तो बताएका हुन् ।

चित्लाङ चन्द्रागिरि थानकोट सडक निर्माण सम्पन्न हुँदा कुनै एउटा पार्टीलाई मात्र सुविधा नभई समग्र जनताले लाभ लिने हुँदा संघ, प्रदेशका सांसदहरु तथा पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायत सबै जनप्रतिनीधिहरुले विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो । मन्त्री सिंहले जनप्रतिनीधि र सरोकारवाला सबैलाई चाँडै सडक बनाउने कार्यमा सरकार लाग्ने बताउँदै सडकको बाँकी काम छिट्टै सम्पन्न गराउने प्रतिवद्धता जनाए ।

 

‘जुनसुकै पाटीबाट विजय भए पनि विकासलाई केन्द्रमा राखेर जनप्रतिनीधिलाई राम्रो काम गराउन स्थानीयको भूमिका महत्व हुन्छ’ उनले भने–‘अधिकार मात्र खोज्ने जनताले आफ्नो कर्तव्य भूल्न हुँदैन ।’ व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई विगत सम्झन आग्रह गर्दै मन्त्री सिंहले भने–‘गाउँका सडक कस्ता थिए, खानेपानीको हालत के थियो, स्कूल कस्ता थिए अहिले ति ति संरचनाहरु कस्ता छन ? हेर्नूस् ।’ उनले छोटो समयमा सरकार परिवर्तन भईरहने र जनताले समेत सरकार त टिक्दैन विकास के हुन्छ भन्न थालेपछि स्थिर सरकारको लागि अहिलेको गठबन्धनको सरकार बनेको प्रष्ट पारे ।

चित्लाङ चन्द्रागिरि–थानकोट सडक वि.सं. २०४९ सालको स्थानीय निकाय चुनावपछिको पहिलो काठमाण्डौं जिल्ला सभापति तीर्थ बहादुर केसीको अग्रसरतामा निर्माण थालिएको थियो । सो सडकको वि.सं. २०४९ गणेशमान सिंहले शिलान्यास गरेका थिए । हालका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिह उनै गणेशमान सिंहका छोरा हुन् ।

कार्यक्रममा संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री कान्छाराम तामाङले चित्लाङ चन्द्रागिरि–थानकोट सडक मर्मतको नाउँमा धेरैदिन अवरोध गर्न नहुने धाराणा राखे । तामाङले मेशिनको संख्या बढाएर एक हप्तामै काम सकिने गरी प्रक्रिया अघि बढाउन सडक डिभिजन प्रमसखसंग कुरा गरिसकेको सुनाए । एक अर्को प्रसंगमा मन्त्री तामाङले कृषिको हबकै रुपमा रहेको थाहानगरमा सिंचाइ योजनाको आवश्यक भए निवेदन पेश गर्न आग्रह गरे । उनले कुनै टोल गाउँ विद्युतीकरण नभएको भए तत्काल भन्न आग्रह गर्दै थपे–‘सिंचाई अर्को आर्थिक वर्षमा माग अनुसारको योजनाका लागि बजेट व्यवस्था गर्छु तर विद्युतीकरणका लागि यहि वर्ष गर्छु ।’ उनले पार्टीभित्रै पनि गुट उपगुटका कुरा आउने गरेको बताउँदै विकासमा एक भएर अघि बढ्नुको विकल्प नभएको बताए । विकासमा एकीकृत भए अघि बढे नतिजा आउनेमा उनको विश्वास थियो ।

नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले एग्रो टुरिजमको उर्वर भूमि थाहानगरसम्म २२ किलोमीटर सडक व्यवस्थित नहुनु दुखद् भएको बताए । सभापति बानियाँले अहिलेको सरकारले चित्लाङ चन्द्रागिरी सडक निर्माणलाई गर्नै पर्ने कामको सूचीमा राखेको बताउँदै आगामि बजेटमा समेटेर निर्माण पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जनताको निराशालाई भरोसामा बदल्नका लागि अहिलेको सरकार प्रतिवद्ध रहेको बानियाँको भनाइ थियो । संविधान संशोधन र शासकीय व्यवस्थालाई जनता लक्षित बनाउन सरकार अघि बढिरहेको सन्दर्भमा चित्लाङ चन्द्रागिरि सडकका साथै समग्र विकासका लागि सरकार तत्पर रहेको भनाइ राखे । बाँनियाले भने–‘मुखले जे भन्यो, त्यही गर्ने पार्टी नेपाली काँग्रेस हो, यो वर्ष नपुगेको बजेट अर्को वर्ष बजेट छ्ुट्याएर सडक बनाउँछौं ढुक्क हुनुहोस् ।’

नेपाली काँग्रेसका नेता तथा कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले पछिल्लो समय काम भन्दा मिडियाबाजी बढि भएकाले विकासका सवाल पछाडि परेको बताएका छन् । थाहानगरबाट काठमाण्डौ जोड्ने जम्मा २२ किलोमिटर सडक व्यवस्थित बनाउन बहुवर्षे ठेक्का प्रणाली नहुनु दुखद् भएको मोक्तानको भनाइ थियो । विकास नतिजामुखी हुनका लागि तीनै तहबीचको सरकारको समन्वय आवश्यक भएको बताउँदै पालिका अध्यक्ष मुक्तानले टिकटक, फेसबुक र युट्युबमा प्रचार गर्ने, काम नगर्ने प्रवृत्ति हाबी रहेको औल्याए । चित्लाङ चन्द्र्रागिरी सडकले सार्थकता पाउने गरी बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । जुनसुकै तहको जनप्रतिनीधिहरुले पनि जनताले महशुस गर्ने काम गर्नुपर्ने बताउदै जनताले प्रतिनीधि छनोट गर्दा त्यस कुरालाई पनि ध्यान दिनूपर्ने उनको भनाइ थियो ।

थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार बलामीले गणेशमान सिंहको नामाकरण भएपछि सडक निर्माणमा गति लिन नसकेको धारणा राखे । उनले भने सडक निर्माणमा –‘राजनीतक खिचातानी बढि भयो, उपलब्धी शुन्य।’ वडाध्यक्ष बलामीले सडक निर्माणका लागि हालसम्म एक अर्ब बढि बजेट निकास भएको अनुमान गरे । जो कोहीले पनि काम भन्दा बढि आश्वासन दिएको उल्लेख गर्दै शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पनि आश्वासनमा मात्र सीमित नगरी काम गरिदिन अध्यक्ष बलामीले आग्रह गरे ।

अवलोकन तथा भेटघाट कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, पूर्व नगर उपप्रमुख खड्ग गोपाली, वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठ, ७ नम्बर वडाध्यक्ष शिवराज थिङ, १२ नम्बर वडाध्यक्ष टिकाराम स्याङ्तान, नेपाली काँग्रेस थाहानगरका पदाअधिकारीहरु, काँग्रेस जिल्ला तथा प्रदेश समितिका सदस्यहरुलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली काँग्रेस नगर सचिव कर्ण बहादुर गोपालीले सञ्चालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी