सुदूरपश्चिम प्रदेश राजधानी तोकिएकोे गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामा ठेलागाडा व्यवस्थापन गर्न नगरपालिका असफल देखिएको छ । साढे ४ वर्षअघि निर्वाचित जनप्रतिनिधिले बजारमा ठेलागाडा र खोकाछाप्रा हटाएर बजार व्यवस्थापन गर्ने योजना अगाडि सारे पनि समस्या अझै उस्तै छ ।

बजारलाई व्यवस्थापन गर्न बेलाबेला ठेलागाडा हटाउने र पुनः बेवास्ता गर्ने गरिएको छ । यसले बजारमा ठेलागाडाको दिगो व्यवस्थापन हुन नसकेको हो । ३ महिनाअघि पनि अत्तरिया बजारमा भएका ठेलागाडालाई व्यवस्थापन गर्न बजार क्षेत्रमा रहेका करिब ३ सय ठेलागाडा बसपार्कमा राखिएका थिए । तर, अहिले बसपार्कमा राखिएका सबैजसो ठेला बजार क्षेत्रमै राख्न थालिएको छ । अत्तरिया बजार व्यवस्थापन समिति अध्यक्ष बाजी कामीले बसपार्कमा व्यापार कम हुन थालेपछि ठेला व्यवसायी बजारमा आउने गरको बताए । पूरै बजारका ठेला एकै ठाउँ राखिएकाले त्यहाँ व्यापार कम भएपछि उनीहरू बजारमै आउन थालेको उनले जानकारी दिए । ‘अब बसपार्कमा व्यवस्थापन हुन्छ कि भन्ने आस थियो । तर, त्यहाँ व्यवसाय चलेन भनेर साथीहरू रोडमै आए,’ उनले भने, ‘अहिले पुनः बजारमा ठेलागाडा भरिन थालेपछि अब कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल हुन पाएको छैन ।’

अत्तरिया उद्योग वाणिज्य संघ अध्यक्ष अशोकराज देवकोटाले नगरपालिकासँग पटक–पटक व्यवस्थापनका लागि माग गर्दा पनि बेवास्ता गरेको बताए । नगरपालिकाले बसपार्कमा ठेला व्यवस्थापन गरेपछि त्यहाँ बसे÷नबसेकोबारे नियमित अनुगमन नगर्दा समस्या दोहरिएको उनको बुझाइ छ । ‘ठेलागाडा स्थायी रूपमा नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने भए पनि बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘नगरपालिकाले नगर प्रहरी परिचालन गरेर ठेलागाडाको व्यवस्थापन गर्नुपर्ने हो । नगरप्रहरीलाई परिचालन गरे यो समस्या समाधान हुने थियो ।’ अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बीच सडकमा ठेला लगाएर व्यापार गर्दा दुर्घटनाको जोखिम बढनुका साथै बजार अस्तव्यस्त हुन थालेको बताए । नगरपालिकाले बसपार्कमा राखे पनि पुनः बेवास्ता गर्दा अहिले सबै बजारमै आउन थालेको उनको भनाइ छ ।  ‘साँझ ४ बजेपछि सबै बजारमै आउने गरेका छन्,’ उनले भने, ‘साँझ नै बढी भीड हुने र चोकमै ठेलागाडा राखिँदा दुर्घटनाको जोखिम बढेको छ ।’ नगरपालिकाले नगर प्रहरीलाई परिचालन गर्न सके यो समस्या समाधान हुने दाबी उनले दाबी गरे ।

पालिका प्रेस
थप जानकारी