मुद्दा हारेर पनि जितेको भन्दै थप पारिश्रमिक मागेको र अदालतको फैसलाको छायाँ प्रति लिन २ हजार रुपैयाँ राजस्व मागेर ठगी गरेको भन्दै जाहेरी परेपछि कास्की प्रहरीले कानुन व्यवसायी कमलप्रसाद अर्याललाई मंगलबार पक्राउ गरेको छ । अर्याल पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका रामबहादुर दमैले सोमबार अर्यालविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका थिए । सोमबारै दर्ता भएको जाहेरीका आधारमा मंगलबार प्रहरीले पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिएको थियो । अर्याललाई साँझ पोखरा–१७ पार्दीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।
अर्यालले भैंसी धनीसम्बन्धी विवादको एक मुद्दामा दमैको पक्षबाट बहस गरेका थिए । गत असोज ७ मा कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । मुद्दामा हारे पनि अर्यालले मुद्दा जितेको भन्दै आफ्नो पक्षका दमैसँग थप पारिश्रमीक भन्दै ५ हजार रुपैयाँ मागेका थिए । साथै मुद्दा जितेकोमा बधाइ भन्दै ढाप पनि मारेको दमै बताउँछन् । दमैका अनुसार त्यसबेला मुद्दा जितेको कागज माग्दा अर्यालले ३५ दिनपछिमात्रै पाइने भनेर आश्वासन दिएका थिए । त्यस अवधिपछि लकडाउनको हल्लाले दमै अदालतको फैसला हेर्न नै आएनन् । मंसिर अन्तिम साता फैसलाको कागज माग्दा अर्यालले ‘तपाइँ टाढाबाट किन दुख पाउनुहुन्छ, कोही आफन्त भए पठाइदिनू’ भनेका थिए ।
दमैले एकजना आफन्तलाई अर्यालसँग फैसलाको छायाँ प्रति लिन पठाउँदा २ हजार रुपैयाँ राजस्व लाग्ने भन्दै अर्यालले पैसा लिएका थिए । ‘बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार मागेपछि दिएँ’ दमैले भने, ‘अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको थाहा भयो। अनि ठगिएछु भनेर जाहेरी दिएको हुँ ।’
आफूले मुद्दा हारेको थाहा पाएपछि अर्यालसँग सम्पर्क गर्दा न्यायाधीशले टाउको हल्लाएकाले जितियो भनेर ठानेको र उच्च अदालतमा जान सकिने प्रतिक्रिया दिएको दमैले बताए । उनले अर्याललाई २३ हजार रुपैयाँ विभिन्न शुल्कवापत दिएको भए पनि जाहेरीमा भने २१ हजार मात्रै जनाएको बताए । अर्याललाई बुधबार जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दामा म्याद थपको तयारी भइरहेको प्रहरीले जनाएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्