विद्यार्थी अभावले मकवानपुरगढी गाउँपालिका–७ स्थित बागेश्वरी आधारभूत विद्यालय बन्द भएको छ । तीन कक्षासम्म पठनपाठन भइरहेको विद्यालयमा विद्यार्थी नभएका कारण बन्द भएको विद्यालयकी प्रधानाध्यापक विपना थिङले बताइन् ।

‘गत वर्ष १८ जना भर्ना भएका थिए,’ उनले भनिन्, ‘यस वर्ष विद्यालयमा एक जना विद्यार्थी मात्र भर्ना हुन आएकाले बन्द गर्नुपरेको हो ।’ विद्यालय नजिकै अन्य विद्यालय रहेको र टाढाका विद्यालयले पनि बसको सुविधा उपलब्ध गराएपछि विद्यालयमा विद्यार्थी भर्ना हुन नआएका हुन् ।विद्यार्थी भर्ना नभएपछि विद्यालयका शिक्षकलाई अन्य विद्यालयमा पठाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताए ।

गत वर्ष पनि मकवानपुरगढी–३ मा रहेका २ वटा विद्यालयमा विद्यार्थी संख्या तोकेअनुसार नभएका कारण डिग्रेड (कक्षा घटुवा) गरिएको थियो । १ देखि ५ कक्षासम्म पठनपाठन हुने कालीदेवी आधारभूत विद्यालय र १ देखि ८ कक्षासम्म पठनपाठन हुने सरस्वती आधारभूत विद्यालयमा विद्यार्थी संख्या कम भएका कारण डिग्रेड गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले बताए ।

हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढी गाउापालिकामा बर्सेनि विद्यार्थी घट्दो अवस्थामा छन् । २०७९ सालमा पालिकाभरि ७ हजार ५ सय १४ जना विद्यार्थी रहेकामा २०८० सालमा ९ सय ३२ जना विद्यार्थी घटेर ६ हजार ५ सय ८२ जना भएका थिए ।

२०८१ सालमा एक हजार ५४ जना विद्यार्थी घटेर ५ हजार ४ सय २६ जना भर्ना भएका थिए भने यस शैक्षिक सत्रमा ५ हजार २९ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थी संख्या घट्दै जानुको मुख्य कारण जनसंख्या वृद्धिमा कमी हुनु, बढ्दो सहरीकरण, रोजगारीका लागि बाहिर जानु, पर्याप्त सेवा सुविधालगायत कारण रहेका छन् ।पालिकाभित्र कक्षा ३ सम्म पठनपाठन हुने १५ वटा विद्यालय रहेका छन् । कक्षा ४ देखि माथिका कक्षासमेत सञ्चालन भएका १७ वटा विद्यालय रहेका छन् ।

पालिका प्रेस
थप जानकारी