‘टिष्टुङ–पालुङ’ भनेपछि मुलुका धेरै ठाउँका पाका पुस्ताले सजिलै चिन्छन् । मकवानपुर जिल्लाको टिष्टुङ–पालुङ ‘ब्राण्ड’ नै हो । बाइरोड खुलेपछि त झन यो ठाउँले थप व्यापकता पाएको थियो । सडक मार्ग होस् या गोरेटो ‘टिष्टुङ–पालुङ’ तराईलाई काठमाण्डौं जोड्ने नाका पनि हो । काठमाण्डौं भन्दा पहिला यहाँका मानिसले गाडी देखेका थिए । यहाँका कतिपय व्यक्तिले त्रिभुवन राजपथ (बाइरोड) निर्माण हुनु अघि गाडी बोके, त्रिभुवन राजपथ बनिसकेपछि गाडी गुडाए अनि चढे पनि । बाइरोड बनेपछि यहाँको गाउँगाउँमा विकास पस्यो ।
विकासको पूर्वाधारका थरी–थरीका आयामसंगै पालुङमा शैक्षिक अभियान चलाइयो । तत्कालिन राणाकालमा पालुङमा शैक्षिक अभियान चलाउनु फलामको चिउरा चपाए सरह थियो । तर राणा शासनको अन्त्यसंगै वि.सं. २००७ सालतिर तत्कालिन पालुङका जिम्मवाल तोयापाणी प्रधानले बालबालिका पढाउने पाठशाला खोल्ने निधो गरे । जिम्मवाल तोयापाणीका ८९ वर्षिय छोरा तेज बहादुर प्रधान बाल्यकाल सम्झँदै आफ्ना बाबुले पालुङको शैक्षिक विकासमा लगाएको डोब आलै बनाउन खोज्छन् । तेज बहादुर पुराना कुरा सम्झी–सम्झी भन्छन्–‘गाउँमा मास्टर थिएनन् काठमाण्डौंको कालिमाटी र क्षेत्रपाटीबाट गाउँलेका छोराछोरी पढाउन बा ले शिक्षक ल्याउनु भएको थियो ।’ उनै जिम्मवाल प्रधानको पहलमा वि.सं. २००० सालतिर पालुङ गाउँमा निर्माण भएको लाम्पाटी (फल्चा) पछि पाठशाला बन्यो । ‘जिम्मवाल प्रधानले काठमाण्डौबाट झिकाएको शिक्षकले गाउँभरीका केटाकेटी पढाउँथे’–पालुङको पाठशालामा पढेका जंगली राजकुमार प्रधानले सुनाए ।

पुर्ननिर्माण पश्चात चिटिक्क भएको पालुङको लामपाटी पाठशाला । फोटोः गणेश विष्ट/पालिका प्रेस
उहीलेको पाठशाला (लामपाटी) वृद्धभत्ता पाउने उमेर नाटेपछि कमजोर भयो अर्थात् वि.सं. २०७२ सालको भुकम्पले ७२ वर्ष नै पुगेको लामपाटी जीर्ण भयो । थाहा नगरपालिका वडा नम्बर २ पालुङको लामपाटी दरबिलो छँदा त्यही पाठशालामै पढेकाहरु कचहरी बस्ने, घाम ताप्थे र सुख दुःख साट्थे । पाठशालामा पढेकाहरु टाठा हुँदाहुँदै पाठशाला चाहिँ ७२ सालको भूकम्पले थला प¥यो । गाउँ वरिपरीकाहरुलाई चाहिँ पिर पर्यो । पाठशाला छेउछाउका बुढापाकाहरुलाई पुर्ननिर्माणको भोग जाग्यो । उनीहरु लामपाटी पाठशाला बनाउन बल त लगाउन सक्दैन थिए तर हारगुहार गर्न अघि सरे ।
मत्स्यनारायण मावि पालुङका पूर्व शिक्षक दिपेन्द्रराज प्रधानले तत्कालिन थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई पाठशालाको बेलीविस्तार सुनाए । विष्टले पालुङको शैक्षिक सम्पदाकै रुपमा रहेको लामपाटी पुर्ननिर्माणमा चासो व्यक्त गरे, दाता खोज्ने बचन दिए । तत्कालिन बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलसित पनि कुरा पु¥याए । मन्त्री फुयाँल पालुङमै आए, वस्तुस्थिती हेरे । पाठशाला थला परेको ६ वर्षपछि वि.संं २०७८ सालमा पुर्ननिर्माणको जग बस्यो । विष्टकै पहलमा बागमती प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास आयोजनाबाट लामपाटीको पुर्ननिर्माण शुरु भयो । प्रदेश सरकारको तर्फबाट मन्त्री फुयाँलले पालुङमा पुगेर दिएको बचनबाट पछि हटेनन् बरू सहयोग गरे। बजेट अभावमा अपुरो भएको लामपाटीको बल्ल यस पुर्ननिर्माण सकिएको छ । अहिले पालुङको लामपाटी पाठशाला चिटिक्क भएको छ । ‘जिर्ण पाठशाला पुर्ननिर्माण हुनुमा अघिल्ला मेयरदेखि अहिलेका मेयर/उपमेयर र अरु जनप्रतिनीधिको पनि भरपुर सहयोग मिल्यो, खुशी लागेको छ’–दिपेन्द्रराजले भने ।

पालुङको लामपाटी पाठशाला (अपुरो हुँदा) । फोटोः गणेश विष्ट/पालिका प्रेस
लामपाटी पाठशाला पुर्ननिर्माण भएपछि पालुङको पहिलो ‘शैक्षिक डोब’ले पुर्नजिवन पाएको छ । पालुङ शहरको साँस्कृतिक तथा ऐतिहासिक ग्रामको रुपमा विकास गर्ने अवधारणासहित निर्माण, पुर्ननिर्माण, संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार भइरहेको छ । युवाहरु फुर्सद हुने वित्तीकै फोटो र भिडियो खिच्न पालुङ पुगिहाल्छन् । पालुङमा रैथाने नेवारी संस्कृति र सम्पदा जिवित छ । चलचलन, पर्व, जात्रा र मेला उनीहरुले संरक्षण गरेका छन् । नेवारी संस्कृति र सम्पदा टिकाउँदै पुर्ननिर्माण भएको लामपाटी पालुङको साक्षी बनेको छ । आजभोलि पालुङको लामपाटी पाठशालामा पढेकाहरु पुर्ननिर्माणको कामले हँसिलो चेहरा प्रस्तुत गर्छन् ।
स्थानीय शम्भु नापित लामपाटीमै काठको पाटीमा खरीले लेखेर पढेको सुनाउँछन् । नापित अतित्का कुरा सम्झँदै भन्छन्–‘पाटीमै पढेका अंगारेका शिवराज ढकाल त पत्रकार बने ।’ आफ्ना कतिपय दौतरीहरु बितिसकेको नापितले बताए । वि.सं. २००३ सालमा जन्मेका जंगली राजकुमार प्रधानले पनि लामपाटीका पढ्न भ्याए । लामपाटीे पुर्ननिर्माणको कुरा झिक्ने वित्तिकै उनले पालुङमा शैक्षिक जागरण भित्र्याउने जिम्दार तोापाणी प्रधानलाई सम्झिए । ‘विहानै बुबा आमाले स्कूल जानी बेला भयो भनेर खाना तयार गरिदिएको र पाठशाला नजिकै भएपनि बुबाले दिनदिनै पु¥याउनै आएको याद छ ।’ प्रधान भन्छन्–‘पाटीमा पढ्न बस्नु अघि गुरुलाई खुट्टा ढाकेर मात्र बस्नुपथ्र्यो ।’ उनले पाठशालामा पुग्दा र बेलुकी घर फर्कने बेलामा गुरुको खुट्टा ढेक्नै पर्ने पुरानो चलन सुनाए । प्रधानले सँगै पढेका आफ्ना साथीहरु सम्झैदै भने–‘मसित चन्द्र बहादुर कार्की, सान्नानी अधिकारी लगायत अरु नाम बिर्से पढ्न चै सँगै पढेका थिए ।’ लामपाटी पाठशालामा पढेकाहरु मध्ये आर्थिक अवस्था बलियो हुनेले भीमफेदी र काठमाण्डौ जाने गरेको भएपनि आफ्नो निमछरो घरगृहेस्थी भएका कारण ५ कक्षामै पढाइ बिट मार्न परेको बताए । शिक्षामा साह्रै जोड दिने व्यक्ति तोयापाणी प्रधान नै भएको बताउँदै उनकै पहलमा क्षेत्रपाटीका दिनेश प्रसाद श्रेष्ठ र भैरबप्रसाद श्रेठ शिक्षक झिकाएको स्मरण गरे । तोयापाणी नै जनकल्यण माविको पहिलो अध्यक्ष भएको समेत उनको दाबी छ । ‘लामपाटी पाठशालाकै विकसित रुप पालुङको सरस्वती आधारभूत विद्यालय हो’–उनले भने । सरस्वती स्कुल वि.सं. २०१४ सालमा स्थापना भएको अभिलेख छ ।

पालुङको लामपाटी पाठशाला (जीर्ण अवस्थाको हुँदा, साथमा तोयापाणी प्रधान) । फोटोः गणेश विष्ट/पालिका प्रेस
पहिले मण्डलपाटीको रुपमा रहेको लामपाटी पाठशालाको रुपमा स्थापित भएको पालुङका परशुराम कार्कीलाई राम्रोसंग सम्झना छ । उतिबेला कालो अंगारले उज्वल भविष्यका लागि खरीले लेखेर पढेको उनलाई झलझली याद छ । कार्की भन्छन्–‘भैरब प्रसाद र राम प्रसाद भन्नी मास्टरले पढाए, पछि सरस्वती स्कूलमा आएर ५ कक्षा पास भएँ । विद्यालय र पाठशालाको समिति भए÷ नभएको अड्कल काट्न नसकेको बताउँदै कार्की थप्छन्–‘जे जे भने नि तोयापाणी जिम्वाल हो, उहाँकै अगुवाइमा पालुङमा शैक्षिक जागरण आयो ।’ १० वर्षको उमेरमा १ कक्षामा भर्ना भएका परशुरामले पाठशालामा निःशुल्क पढेको सुनाए । ‘पढेर के हुन्छ, पढ्नी कुरा के हो बुझेको हैन शिक्षकले आउ है भन्नी र घरबाट स्कूल जा है भन्नी भन्दा केही थाहा भएन, त्यसरी नि ५ कक्षाको सटिपिकेट लिएको छु’–कार्कीले भने । पाठशालामा आफू लेखपढमा सिपालु भएपछि राम प्रसाद साल्मी मास्टरले कक्षा चढाएको परशुरामले सम्झी–सम्झी सुनाए ।

साँस्कृतिक तथा ऐतिहासिक ग्रामको अवधारणामा विकास हुँदै गरेको पालुङको लामपाटी पाठशाला परिसर। फोटोः गणेश विष्ट/पालिका प्रेस
घरैमा क..ख.. का अक्षर फुटाएका पालुङका सिताराम ढकाल पाठशालामा बाहुन जातिले कौमती पढेको स्मरण गर्छन् । परिवारमै कखरा ..बह्रखरी पढ्न जानेका ढकाल चण्डीको किताब बोकेर पाठशाला जाने गरेको पुराना कुरा सुनाउँछन् । ‘लामपाटी पाठशालामा राम्ररी अक्षर फुटाएर पढ्न सकेसी माथ्लो कक्षामा जान्थेम, अहिले याद आउँछ त्यही फररर् पढ्न सक्नु नै जाँच रहेछ’– ढकालले भने–‘पाठशालामै पढेर मास्टर हुनु भएको सान्नानी दिदीले सरस्वती स्कूलमा मलाई नि पढाउनु भयो ।’ पालुङलाई लागेको लामपाटी पाठशालाको यहि पहिलो डोबकै कारण अहिले थाहा नगरपालिकामा ५२ सामुदायिक विद्यालय सञ्चालनमा छन् । ११ वटा संस्थागत विद्यालयमा अध्यापन भइरहेको छ । वर्षेनी थाहा नगरपालिकाले शिक्षाका लागि करोडौ लगानी गर्दै आएको छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्