मकवानपुरको बागमती गाउँपालिकामा आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गरिने निर्णय गरिएको छ। यस विषयमा गाउँपालिकास्तरीय प्रधानाध्यापकहरूको बैठक गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

बैठकमा अघिल्लो बैठकको समीक्षा गर्दै विद्यार्थी भर्ना, पठनपाठनको अवस्था, शैक्षिक क्यालेण्डर कार्यान्वयन, संस्थागत विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति तथा भर्ना शुल्क लगायत विषयमा छलफल गरिएको थियो। साथै शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम पेश गर्ने, सञ्चित बिरामी बिदा अद्यावधिक गर्ने, आईइएमआईएस प्रणालीमा विवरण सच्याउने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन बुझाउने तथा विद्यालय सुधार योजना तयार गर्ने विषयमा पनि निर्णयात्मक छलफल भएको छ।

त्यसैगरी सिकाइ चौतारी (लर्निङ पोर्टल) को प्रयोग, शिक्षक डायरीको उपयोग, विद्यालयको वार्षिक कार्यतालिका पेश गर्ने, शिक्षण सुधार योजना अनिवार्य गर्ने, नतिजा प्रकाशन अघि आईइएमआईएसमा प्राप्तांक प्रविष्ट गर्ने तथा विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने विषयमा पनि जोड दिइएको छ। बैठकले १६औं मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासम्बन्धी विषयमा समेत चर्चा गरेको छ।

महत्त्वपूर्ण रूपमा, कक्षा १ मा तामाङ भाषाको पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्ने निर्णय गरिएको छ। संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारअनुसार तामाङ मातृभाषा बोल्ने बालबालिका बढी भएका विद्यालयमा मातृभाषामा आधारित शिक्षण प्रवर्द्धन गर्ने लक्ष्यअनुसार २५ विद्यालयमा कक्षा १ देखि तामाङ भाषा पढाइ सुरु गरिनेछ। यसका लागि आवश्यक शिक्षक तालिमसमेत सम्पन्न भइसकेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख १५ गतेअघि कुनै पनि विद्यालयले भर्ना प्रक्रिया, आवेदन खुलाउने वा प्रवेश परीक्षा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। साथै वैशाख २१ गतेदेखि अनिवार्य रूपमा पठनपाठन सुरु गर्नुपर्ने निर्देशनसमेत दिइएको छ।

उक्त बैठकमा गाउँपालिका अध्यक्ष सर्केश घलान, सामाजिक विकास समितिका संयोजक कमानसिं पाख्रिन, शिक्षा शाखा प्रमुख प्रकाश चन्द, जनता माविका प्रधानाध्यापक वसन्त राईलगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी