मकवानपुरको थाहा नगरपालिकामा ९२ मोतियाबिन्दुपीडतको शल्यक्रिया भएको छ । वृहत शिविरको आयोजना गरी ६ सय ८५ जनाको आँखा परीक्षण गर्दा मातियाबिनदु देखिएका ९२ जनाको आँखाको अपरेशन गरिएको हो । तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा भएको आँखा परीक्षण र उपचार र अप्रेशन हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई सहज भएको थियो ।
केन्द्रका नेत्र सहायक बिबेक राजथलाका अनुसार, शल्यक्रिया गरिएका बिरामीमध्ये ४६ जनाको फेको प्रविधिबाट र ४२ जनाको एसआईसीएस विधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । त्यस्तै, ४ जनाको आँखामा मासु पलाउने समस्या सम्बन्धी सल्यक्रिया समेत गरिएको छ ।

भिजन हिमालयन फाउन्डेसन, थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर बैशाख ७ गतेदेखि १० गतेसम्म थाहा नगरपालिकाका विभिन्न वडा तथा कैलाश गाउँपालिकाको गोगने क्षेत्रमा सम्पन्न गरिएको हो । शिविरमा हेटौँडास्थित आँखा अस्पतालबाट आएका आँखा सौन्दर्य विशेषज्ञ मोहिनी श्रेष्ठसहितको चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेको थियो ।
शल्यक्रिया पश्चात् आयोजित पट्टि खोल्ने कार्यक्रममा थाहानगर प्रमुख विष्णु बिष्टले जनप्रतिनिधिहरूले पाउने भत्ताको सदुपयोग गर्दै स्थापना गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्रले अहिले छिमेकी पालिकाका नागरिकलाई समेत सेवा दिइरहेको उल्लेख गरे । उनले केन्द्रको स्तरोन्नतिका लागि नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए । विष्टले सो अवसरमा आँखा केन्द्र स्थापनाका लागि सहयोग गर्ने व्यक्तिहरुलाईको पनि सम्झाना गरे ।

कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललगायतको उपस्थिति रहेको थियो । शिविरले विशेषगरी कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका दृष्टि समस्या भएका नागरिकलाई राहत पु¥याउँदै स्थानीय तहमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराएको थियो ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्