मकवानपुरको थाहा नगरपालिका–६ की ६ वर्षीया युनिसा राईको ६ वैशाखमा वाराही खोलामा डुबेर मृत्यु भयो । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ ल्याइएकी उनको त्यहीँ मृत्यु भएपछि पोष्टमार्टम गर्न काठमाडौं लैजानु प¥यो । १५ शय्याको सुविधा भएको उक्त स्वास्थ्य केन्द्रमा चार जना एमबीबीएस डाक्टर छन् तर पोष्टमार्टम गर्ने तालिम प्राप्त जनशक्ति छैन । स्वास्थ केन्द्रमा पोष्टमार्टम नभएका कारण छिमेकीसँग ११ हजार ऋण लिएर छोरीको शव काठमाडौं लगेको मृतकका बावु विकास राईले बताए ।
थाहा नगरपालिकाको अधिकांश दुर्घटना, आत्महत्या, खोलामा डुवेकोलगायतका शव पोष्टमार्टमका लागि काठमाडौं लैजाने गरिएको छ । उक्त क्षेत्रका बासिन्दालाई हेटौंडा भन्दा काठमाडौं जान सहज हुन्छ ।
मकवानपुरको बकैया गाउँपालिका–९ च्याउच्याउका ३५ वर्षीय लाक्पा भोलनको खोलामा डुबेर मृत्यु भयो । उनको शव पोष्टमार्टमका लागि हेटौंडा पु¥याइयो । बकैया गाउँपालिकामा चिकित्सकसहितको प्राथमिक स्वास्थ्य केन्द्र छ तर पोष्टमार्टमको सुविधा छैन । यहाँबाट पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याउनु पर्ने बाध्यता छ । बिषसेवनबाट मृत्यु भएका मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–९ का ४१ वर्षीय शुक्रबहादुर चेपाङको पोष्टमार्टम गर्न हेटौंडा अस्पताल ल्याउनु पर्ने भएकाले नजिकको चौकीका प्रहरीसमेतलाई जानकारी नदिई दाहसंस्कार गरे । प्रहरीसम्म पुगे पोष्टमार्टम गर्न हेटौंडा लैजानु पर्ने भएकाले उनीहरुले प्रहरीलाईसमेत जानकारी दिएनन् । ‘यस्ता घटनामा प्रहरीलाई जानकारी दिए शव हेटौंडा लैजानु पर्ने हुन्छ । पीडामा परेको परिवारमा पोष्टमार्टमका लागि आर्थिक भार पर्ने गरेको छ,’ स्थानीय शिक्षक रामलाल थिङले भने, ‘गाडी भाडा र पोष्टमार्टम गरेपछि हेटौंडामा दाहसंस्कार गर्न थप खर्च हुने भयो । यो झन्झटले पीडामा परेको परिवारलाई झन् सास्ती हुने गरेको छ ।’
हेटौंडा अस्पतालबाहेक जिल्लाको अन्य स्वास्थ्य संस्थामा पोष्टमार्टम गर्ने सुविधा छैन । स्वास्थ्य केन्द्रमा चिकित्सक भए पनि तालिम लिएका र अन्य जनशक्ति तथा पूर्वाधार नहुँदा पोष्टमार्टम गर्न शव हेटौंडा नै लैजानु पर्ने बाध्यता रहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । ‘स्वास्थ्य केन्द्रमा तालिम प्राप्त चिकित्सकमात्र भएर हुँदैन, शव चिरफार गर्ने जनशक्तिको पनि आवश्यकता पर्छ,’ उनले भने, ‘पोष्टमार्टम आवश्यक हुने घटनामा शव हेटौंडा लैजान हजारौं खर्च गर्न पीडित परिवारलाई समस्या हुने गरेको छ ।’
गाउँमा रहेका स्वास्थ्य केन्द्रहरुमा पोष्टमार्टम गर्ने सुविधा नभएका कारण खर्च र सास्तीका कारण प्रहरीसम्म नआउँदा आपराधिक घटना पनि दबिने गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दिपक थापा बताउँछन् । पोष्टमार्टमकै झन्झटले आत्महत्याका कतिपय घटना प्रहरीसम्म नआउँदा आत्महत्याका घटनाको एकिन तथ्यांक समेत नआउने गरेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटी बताउँछन् । ‘यस्ता घटनाको जानकारी प्रहरीमा आए पोष्टमार्टम अनिवार्य हुन्छ । टाढा लैजान खर्चिलो र झन्झट मानेर गुपचुपमै अन्तिम संस्कार गर्दा आत्महत्याका घटनाको एकिन तथ्यांकमा कठिनाई हुन्छ ।’
मकवानपुरको हेटौंडाबाहेक अन्य ९ वटै पालिकामा प्राथमिक प्राथमिक स्वास्थ्य केन्द्र छन् । ९ वटै पालिकाको स्वास्थ्य केन्द्रका चिकित्सकहरु कसैले पोष्टमार्टम गर्ने तालिम लिएका छैनन् । ‘पोष्टमार्टम गर्न चिकित्सकले यस सम्बन्धी कम्तीमा तीन महिने तालिम लिएको हुनु पर्छ,’ जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले भने, ‘चिकित्सकलाई तालिम दिने व्यवस्था गर्न सकिने भए पनि चिरफार गर्ने जनशक्ति स्वास्थ्य चौकीले नै व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भने । जनशक्तिकै कारण स्वास्थ्य केन्द्रमा यो सुविधा संचालन हुन नसकेको उनले बताए ।
मकवानपुरका ९ वटै पालिकाका स्वास्थ्य पोष्टमार्टम नहुने भएकाले हेटौंडा अस्पतालमा पोष्टमार्टमको चाप बढी हुने गरेको छ । यहाँ दैनिक ३ देखि १५ शव पोष्टमार्टम गर्न ल्याउने गरिएको हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले बताए ।
-इकान्तिपुरबाट
















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्