मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाण्डौमा भने ९ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ ।

यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको थाहा नगरपालिका–२ स्थित ऐतिहासिक पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरी गणेश, कुमारी, इन्द्रायणी, बाराही, भगवती र कालाभैरवको पुजा गरिन्छ ।

स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।

पालुङ शहरको इन्द्रजात्राको अवसरमा भैरबको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको छ । थाहा नगरपालिका वडा नम्बर २ को इन्द्रजात्राको अवसरमा पालुङमा भैरबको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । पालुङ शहरको डबली नजिकैको घण्टा घरमा राखिएको काला भैरबको मुकुटको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । ‘पहिले–पहिले भैरबलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको बुबाले सुनाउनु हुन्थ्यो’ स्थानीय रमन श्रेष्ठले भने–‘अहिले जात्राको अवसरमा भैरबकै मुखबाट छ्याङ निकाली प्रसाद बाँड्छौं ।’

काठमाण्डौं उपत्यकामा लाग्ने इन्द्रजात्रामा स्वेत भैरबको मुखबाट छ्याङ निकाल्ने चलन भएपनि पालुङमा भने काला भैरबको मुखबाट छ्याङ निकाल्ने र प्रसादको रुपमा वितरण गरिएको हो । पालुङमा कतिपयले भैरबको मुखबाट निकालिएको छ्याङ त्यहीँ मुख थापेर खाए भने कतिपयले प्रसादको रुपमा भाँडामा थापेर घरघरमा लगेका थिए ।

कतिपय स्थानमा लाग्ने यस्तो जात्रामा महिलालाई उक्त छ्याङ (प्रसाद) खान प्रतिबन्ध भएपनि थाहा नगरपालिकाको पालुङमा भने सबैलाई खुल्ला रहेको गुठीका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए । यद्यपि पालुङमा लाग्ने इन्द्रजात्रामा महिलाले भैरबको मुकुट छुन भने पाउँदैनन् । यो पनि पुरानै चलन हो ।

इतिहासअनुसार पहिलेपहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन भैरवको मुखबाट छ्याङ दिएका थिए । पहिले पालुङ पनि भिन्दै राज्य भएको कारण यो छ्याङलाई प्रसादको रुपमा बाँड्ने चलन बसेको हुन सक्ने स्थानीय निरोज प्रधानको प्रतिक्रिया छ । छ्याङसँगै पालुङ शहरको डबली (साँस्कृतिक ग्राम) परिसरमा जात्रामा पुगेकाहरुलाई समयवजी लगायतका प्रसाद पनि वितरण गरिएको थियो ।

 

पालिका प्रेस
थप जानकारी