सदरमुकाम हेटौँडासम्म आएर राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा समस्या बेहोर्दै आएकालाई लक्षित गरी मकवानपुरमा गाउँमा नै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । मकवानपुरमा जिल्लामानै पहिलोपटक राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागसँगको समन्वयमा राक्सिराङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको हो ।
लामो समयदेखि प्रतिक्षामा रहेका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित पालिकाको वडा नम्बर ९ को घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाबाट परिचयपत्र वितरण मकवानपुरमै पहिलो भएको भन्दै अब गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दिने कार्यलाई निरन्तरता दिने बताए । दुर्गम क्षेत्रका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ उनले भने–‘अब छिट्टै यहीँबाटै परिचयपत्रका लागि फाराम भर्ने तथा फोटो खिच्ने कार्य पनि सुरु गर्ने तयारी गरेका छौँ ।’
विभागबाट बाँकी वडाको परिचयपत्र गाउँपालिकामा प्राप्त हुने बित्तिकै सम्बन्धित सेवाग्राहीहरुलाई पालिकाबाटै वितरण गरिने भएको छ । अध्यक्ष मल्लले यसका लागि आवश्यक समन्वय भइरहेको बताए । गाउँपालिकाको केन्द्रसम्म पुग्नसमते अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहेको राक्सिराङको दुर्गम क्षेत्रमा सेवा विस्तारसँग राहत पुगेको छ । पालिकाबाट तीन जना र पालिकाले सञ्चालन गरेको एकीकृत बृहत शिविरबाट ६४७ जना गरी ६५० जनाले गाउँमानै राष्ट्रिय परिचयपत्र पाएका छन् ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्