मकवानपुर थाहा नगरपालिकामा वर्षेनी लाग्ने इन्द्रजात्राको अवसरमा भैरबको मुखबाट छ्याङ निकाल्ने परम्परा ब्युत्याइने भएको छ । थाहा नगरपालिका वडा नम्बर २ को पालुङ शहरमा लाग्ने इन्द्रजात्राको अवसरमा पालुङमा हराइसकेको पुरानो चलन भैरबको मुखबाट छ्याङ निकाल्ने परम्परा ब्युँत्याउन लागिएको हो । यसवर्षको इन्द्रजात्रा २१ भाद्रमा परेको छ ।
पालुङ नेवा संस्कृति सम्पदा संरक्षण गुठीको व्यवस्थापनमा वर्षेनी लाग्ने इन्द्रजात्रामा पुरानो चलन यसपालिबाट ब्युताउन लागिएको स्थानीय रमन श्रेष्ठले जानकारी दिए । ‘पहिले–पहिले भैरबलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको बुबाले सुनाउनु हुन्थ्यो’ श्रेष्ठले भने–‘मुखबाटै छ्याङ निकाल्ने चलन त झन हराइ नै सकेको थियो त्यो चलन हामी यसपालिबाट ब्युत्याउँदैछौं ।’ भैरबले प्रसादको रुपमा अघिल्लो वर्षसम्म छ्याङ छर्किने मात्र गर्ने गरिएको थियो । यसपालि भै्बको मुखबाटै छ्याङ निकाल्नका लागि भिन्दै मुकुटको व्यवस्था गरिएको छ ।

काठमाण्डौं उपत्यकामा लाग्ने इन्द्रजात्रामा स्वेत भैरबको मुखबाट छ्याङ निकाल्ने चलन भएपनि पालुङमा भने काला भैरबको मुखबाट छ्याङ निकाल्ने र प्रसादको रुपमा वितरण गर्ने चलन छ । कतिपय स्थानमा लाग्ने यस्तो जात्रामा महिलालाई उक्त छ्याङ (प्रसाद) खान प्रतिबन्ध भएपनि थाहा नगरपालिकाको पालुङमा भने सबैलाई खुल्ला रहेको स्थानीय निरञ्जन श्रेष्ठले जानकारी दिए । यद्यपि पालुङमा लाग्ने इन्द्रजात्रामा महिलाले भैरबको मुकुट छुन भने पाउँदैनन् । यो पुरानो चलन हो ।
इतिहासअनुसार पहिलेपहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन भैरवको मुखबाट छ्याङ दिएका थिए । पहिले पालुङ पनि भिन्दै राज्य भएको कारण यो चलन बसेको हुन सक्ने स्थानीय निरोज प्रधानको प्रतिक्रिया छ । छ्याङसँगै पालुङ शहरको डबली (साँस्कृतिक ग्राम) परिसरमा समयवजी लगायतका प्रसाद पनि खुवाउने गुठीको योजना रहेको छ ।
काठमाण्डौंमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरि कुमारी, गणेश, सेतो भैरब, काला भैरब ईन्द्रयणीलाई नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्रजात्रालाई लिइन्छ ।
यस वर्षपालुङमा लाग्ने इन्द्रजात्राको तयारी तिब्र बनाइएको छ । जात्रा २१ भाद्र दिउँसो २ बजेबाट शुरु हुने भएको छ । जात्रा अवलोकनका लागि बागमती प्रदेश–२ (क) की सांसद तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोत्तःान लगायत विशिष्ट व्यक्तिहरु आउने आयोजकले जानकारी दिएको छ ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्