हेटौडा–१५, मा रहेको श्री आधारभूत विद्यालयमा ‘विद्यार्थी कल्याण छात्रवृत्ति स्वर्ण अक्षयकोष’ स्थापना गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा लामो समय सेवा दिँदै अवकाशप्राप्त स्व. शिक्षक कृष्ण गोपाल कार्कीको सम्झनामा उनकी धर्मपत्नी कमला कार्कीले १ लाख १ सय ५१ रुपैयाँ नगद सहयोग गरेकी छन्।

त्यसैगरी समाजसेवी प्रमिला ढकालले ५१ हजार चेकमार्फत सहयोग गर्नुका साथै विद्यालयका विद्यार्थीहरूलाई जुस वितरण गरेकी थिइन् । कार्यक्रममा स्व. कार्कीकी छोरी प्रविणा कार्की, रिद्धी–सिद्धी सिमेन्ट उद्योगका महानिर्देशक रेवन्त ढकाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको उपस्थिति थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर बम्जनले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।

‘हेटौडा उपमहानगरपालिकाभित्र भए पनि हाम्रो विद्यालयमा भौतिक पूर्वाधारको कमी छ। वर्षायाममा छानो चुहिने समस्याका बीच पनि गुणस्तरीय शिक्षण–अध्ययन निरन्तर जारी छ। यस अक्षयकोष स्थापना र सहयोगी हातहरूको योगदानले गरिब, जेहेनदार, दलित र सिमान्तकृत विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नेछ। यो केवल आर्थिक सहयोग मात्र नभई विद्यार्थीहरूको भविष्यप्रति देखाइएको अमूल्य आस्था र प्रेरणा हो।’–उनले भने । आगामी मंसिर १७ गते विद्यालयको ५० औँ स्थापना दिवस (स्वर्ण जयन्ती) का अवसरमा सहयोगी परिवार तथा व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गरिने उनले जानकारी दिए ।

हाल कक्षा १ देखि ८ सम्म अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूमध्ये गुणस्तरीय शिक्षा प्राप्त गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी अक्षयकोषको प्रयोग गरिने विद्यालयले जनाएको छ।

पालिका प्रेस
थप जानकारी