निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरकारी पेश्की र बेरुजू फर्स्योट गरेको हुनुपर्ने प्रावधान राखेर आचार संहिताको टुंगो लगाएको छ ।

आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट गरेको हुनुपर्ने प्रावधान पारित गरेका हुन् । आचार संहिताको बुँदा नम्बर ४६ मा भनिएको छ- ‘उम्मेदवारले आफू निर्वाचित वा मनोनित वा नियुक्त भएको निकायको कुनैपनि प्रकारको पेश्की फर्स्योट गरेको हुनुपर्ने छ ।’ त्यस्तै लेखापरीक्षणबाट उम्मेदवार हुने व्यक्तिको नाममा बेरुजू देखिएमा फर्स्योट गरेको हुनुपर्ने प्रावधान पनि आचार संहितामा समावेश गरिएको छ ।

आयोगले उम्मेदवार हुने व्यक्तिले स्थानीय तहको पदाधिकारीबाट राजिनामा दिनुपर्ने प्रावधान पनि संहितामा राखेको छ । आचार संहिताको बुँदा नम्बर ३६ मा भनिएको छ- ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको, स्थानीय तहबाट अनुदान प्राप्त संस्ठामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित र मनोनित पदाधिकारीले स्ठानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजिनामा गर्नुपर्ने छ ।’

यस्तै आयोगले बनाएको आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको नाम सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।

पालिका प्रेस
थप जानकारी