बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा आफ्ना सरकारका प्रमुख काम, योजना र प्रारम्भिक उपलब्धिहरूको विवरण सार्वजनिक गरेका छन्। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा उनले प्रशासन, पूर्वाधार, सामाजिक क्षेत्र तथा सुशासनका पक्षमा अघि बढाइएका गतिविधिहरू प्रस्तुत गरे।
२०८२ साउन २० मा मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछि बानियाले भदौ २० र ३० गते गरी क्रमशः ८ र ५ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए। मुख्यमन्त्री बानियाका अनुसार प्रदेश सरकारले प्रशासनिक संरचना पुनर्संरचनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ। स्वास्थ्य क्षेत्रका लागि उच्च शिक्षा अध्ययन गर्ने १० जनालाई छात्रवृत्ति उपलब्ध गराउने कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी उनले दिए।
भदौ २३ र २४ को विरोध प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण सुरु गरिएको र प्रदेशभर इन्धन वितरणका क्रममा हेल्मेट अनिवार्य अभियान संचालन गरिएको पनि उनले उल्लेख गरे। मनसुनजन्य जोखिम तथा विपद्मा प्रभाव कम गर्न १३ जिल्लामा पाँच– पाँच लाखका दरले कुल ६५ लाख रुपैयाँ निकासा भएको र आवश्यक उद्धार सामग्री वितरण गरिएको पनि उनले बताए।
सहरी नीति २०८२ अन्तिम तयारीमा रहेको र जग्गा एकीकरण ऐन २०८२ को मसौदा टुंगिँदै गएको बानियाले बताए। गत १०० दिनमा ११.५ किलोमिटर सडक कालोपत्रे, ६ किलोमिटर ढलान, ५ किलोमिटर ग्राभेल तथा पाँचवटा सडकका पुल र पाँचवटा सामुदायिक भवन निर्माण सम्पन्न भएको विवरण प्रस्तुत गरियो। साथै, सार्वजनिक खरिद खर्चलाई व्यवस्थित गर्न कार्यविधि २०८२ को मसौदा तयार भइसकेको तथा आयोजना निर्माण र व्यवस्थापन कार्यविधि निर्माणतर्फ काम भइरहेको उनले उल्लेख गरे। यससँगै १६०० योजनाको लागत अनुमान तयार भएको जानकारी पनि दिइयो।
सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि ‘हेटौंडा घोषणापत्र–२५ बुँदे’ जारी गरिएको उनले बताए। चेपाङ, चिउरी तथा चमेरो प्रवद्र्धन र स्थानीय सीप तथा प्रविधि विकासका लागि छुट्टै कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको छ। प्रदेशभरका ८६ सहकारी संस्थाको विवरण अद्यावधिक गरिएको पनि उनले जानकारी दिए। हेटौंडा उपमहानगर, चन्द्रागिरी र मेलम्ची नगरपालिकालाई ‘स्वास्थ्य सहर’ अवधारणामा लैजाने प्रक्रिया सुरु भएको बताउँदै मुख्यमन्त्रीले ‘एक जिल्ला–एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम अघि बढाइएको जानकारी दिए। ११ प्रकारका औषधि उत्पादनको तयारी अघि बढिरहेको र दिगो वन व्यवस्थापन कार्यविधि २०७९ संशोधनका लागि कार्यदल गठन गरिएको पनि उपलब्धिमा समावेश गरिएको छ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्