नवनियुक्त सचिव मुकुन्द प्रसाद निरौलाले बढुवाको पत्र बुझेका छन् । सचिवमा बढुवा गर्ने निर्णय भएको पाँच दिनपछि ९ फागुनमा उनले पत्र बुझेका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवाको पत्रसँगै उनको बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।

बैठकमा पहिलो नम्बरलाई नै सचिव बनाउने भनिए पनि दुई मन्त्रीले समयावधि अलि कम भएकोले तीन नम्बरमा रहेका गोपीकृष्ण खनाललाई बनाउने कि ? भन्ने कुरा राखेपछि यसबारे थप बुझेर निर्णय गर्ने भनिएको थियो । तर उनको करिब डेढ वर्ष नै बाँकी देखिएपछि सिष्टमअनुशार नै जाने कुरा भएको थियो । जसले गर्दा पनि निरौलाको पत्र बन्न सकेको थिएन । खनालको २०८० भदौ ५ गते सम्म समयावधि छ ।

अब भने २०७९ जेठमा मात्रै सचिवको पद रिक्त हुँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव यमकुमारी खतिवडाको जेठ २ गते अनिवार्य अवकाश भएसँगै रिक्त हुन आउने पदका लागि वरिष्ठ सहसचिवको सिफारिस हुनेछ । अबको बढुवा ज्येष्ठताबाट भएकोले त्यसमा सबैभन्दा ज्येष्ठ सहसचिव विनोद प्रकाश सिंह सचिवमा बढुवा हुनेछन् ।

पालिका प्रेस
थप जानकारी