भीमफेदी गाउँपालिका–१ घर भएका जिवन पुडासैनी खेतमा ट्याक्टर लगाइरहेको भेटिन्छन् । उनी आलु लगाउने तयारीमा छन् । तर, पुडासैनीलाई डीएपी मल नपाएर आलु लगाउनै नपाइने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।

अघिल्लो वर्ष पनि डीएपी मल नपाउँदा उनले कुखुराको भुस मल हालेर आलु लगाएका थिए । तर, सोचे जस्तो आलु उत्पादन भएन् ।  ‘मैले अघिल्लो साल आलु लगाउने खर्च पनि उठाउन सकिनँ । अबदेखि आलु लगाउँदिनँ त भनेको मनले मान्दैन । आलु लगाए खान त किन्नु पर्दैन भनेजस्तो लाग्छ’, उनले भने, ‘आलु लगाउन खोजेको १० दिन भइसक्यो । अझै डीएपी मल पाउन सकेको छैन् ।’

आलु लगाउन खेत तयारी गरेर बजारमा पुनः मल खोज्न जाने तयारीमा छन्, पुडासैनी । तर, उनलाई सहजै मल पाउने चिन्ताले सताइरहेको छ । भीमफेदीका पुडासैनी मात्र हैन, मकवानपुरको मकवानपुरगढी, बकैया, मनहरी, बागमती र हेटौँडा उपमहानगरपालिकाभित्रका कृषकलाई आलु लगाउने चटारो छ । तर, उनीहरूलाई कामको चटारो भन्दा पनि डीएपी मल नपाउने चिन्ताले सताइरहेको छ ।

हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाका विनोद सापकोटा बिहान उठ्ने बित्तिक्कै बजार आइपुग्छन् । बजार आएपछि उनलाई बाली लगाउने हतारोले डीएपी मल कहाँ पाइन्छ भनेर खोज्नु चटारो हुन्छ । हरेक मल पसल पुगेर उनले पहिलो सोध्छन्, ‘यहाँ डीएपी मल पाइन्छ ?’ सापकोटाले चार दिन भइसक्यो पसलेहरूले मल छ भनेको सुन्न पाएका छैनन् ।

कान्तिराजपथमा मल खोज्न भौतारिएका सापकोटाले शिलापत्रसँगको भेटमा भने, ‘मैले ब्ल्याकमै मल किन्छुभन्दा पनि पाइएन । मल नै आएन कि कसैले लुकायो ?’ आफूलाई र गाउँका आफन्तलाई मल खोजिरहेका सापकोटालाई खेतमा आलु लगाउन हतार भइसक्यो । तर, आलुको ड्याङ पार्नुअघि हाल्नुपर्ने डीएपी मल उनले अहिलेसम्म पाएका छैनन् । ‘बजारभरि युरिया नामको मल मात्रै रहेछ । मलाई चाहियो डीएपी । सहकारीले बाँड्छ भनेको सुनेको छु । अब कहाँको सहकारी खोज्दै जानु । सहकारीले सदस्य नभएकोलाई पनि दिँदैन,’ उनले सुनाए ।

पुडासैनी र सापकोटा प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका अधिकांश कृषकलाई डीएपी मलको अभावले समस्या बनाइरहेको छ । नगदे बालीका रुपमा रहेको आलु नलगाए कृषकलाई आम्दानी र खान किन्नु पर्ने समस्याले पिरोलिरहन्छ । उनीहरूको समस्यामा प्रत्यक्ष सहयोग गर्न कुनै निकायले चासो देखाएको छैन ।

तर, मल नपाएर प्रताडित बनेका उनै कृषकका घर, आँगनमा ‘पाँच वर्षे मेला’ लागिरहेको छ । मेला अर्थात, पाँच–पाँच वर्षमा आउने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । मकवानपुरमा दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जसमा ठूला तथा साना दल, स्वतन्त्र गरेर ६० जनाभन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै उम्मेदवार कृषकका घरको ढोकासम्म पुगिरहेको छन् ।

तर, कृषकलाई आपत परेको विषयमा कसैले चासो नदेखाएको मकवानपुरगढी गाउँपालिका–५ की बिनिता हुमागाई बताउँछिन् । आफ्नो घरमा पनि उम्मेदवार भोट माग्न आएको बताउने हुमागाईले मलको अभाव छ कि छैन भनेर एक पटक नसोधेको गुनासो गरिन् । ‘उनीहरूले मल ल्याउन सक्थे कि सक्दैन थिए मलाई थाहा छैन । तर, काम गर्ने बेला छ, समस्याहरू के छन् भनेर कसैले सोध्दैन । हामीलाई भोट दिनुस् है भनेर कागज छोडेर हिँड्छन्,’ उनले सुनाइन् ।

सापकोटा पनि नेतादेखि वाक्कदिक्क भइसकेका छन् । नेताहरू अपवादमा एक दुई जनाबाहेक सबै फटाहा रहेको भन्दै सापकोटाले रोष प्रकट गरे । ‘पाँच वर्षमा एक चोटी भोट माग्न आउँछन् । त्यसपछि फर्किएर आउँदैनन्,’ उनी भन्छन् । मकवानपुरगढी–५ कै कृष्ण प्रसाद ढुंगानाले मल नपाएर आलु लगाउन नपाएको सुनाए ।

-शिलापत्रबाट ।

पालिका प्रेस
थप जानकारी