मकवानपुरको राक्सिराङ गाउँपालिकामा मानवबेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि पालिकास्तरीय समिति गठन गर्ने निर्णय भएको छ । गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा भएको अन्तरक्रियामा समिति गठन गर्ने निर्णय भएको हो । जसका लागि गाउँपालिकाले आवश्यक कार्यविधि तयार गर्नेछ । नारीसीप सिर्जना केन्द्र नेपालको आयोजनामा गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिसहित अन्य विभिन्न सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा गाउँपालिकामा हुन सक्ने मानव बेचबिखन तथा ओसारपसार रोकथाम तथा जनचेतना अभिबृद्धिका लागि गाउँपालिका स्तरीय एक समिति निर्माण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गार्तौलाले जानकारी दिए । गाउँपालिका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा पालिका स्तरीय विभिन्न सरोकारवाला रहने गरी कार्यविधि बनाइने गाउँपालिकाका समाजिक विकास शाखा प्रमुख गोविन्द अधिकारीले बताए । कार्यविधि तयार गर्ने र समिति गठन गर्ने काम असार महिनाभित्र सकाइने उनको भनाई छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकाभित्र हुन सक्ने मानवबेचबिखन तथा ओसार पसारसम्बन्धी गतिविधि नियन्त्रणका लागि गाउँपालिका कठोर भएर लाग्ने प्रतिबद्धता दिए । आवश्यक कार्यविधि तथा कानुन निर्माण गर्ने र सोअनुसारको समिति निर्माण गरी निरन्तर काम गर्ने उनको भनाई छ । नारीसीप सिर्जना केन्द्र नेपालका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले मानवबेचबिखन तथा ओसारपसारजस्तो जघन्य बिषयलाई जनप्रतिनिधि तथा सरोकार वालाले गम्भीर रुपमा लिनुपर्ने बताए ।

समाजिक मुद्दामा गाउँपालिकाको हरेक गतिविधिमा समन्वय र सहकार्य गर्न तयार रहेको बताउँदै उनले मानवबेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कार्यविधि तयार गर्न पनि सहयोग गरिने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत गतौला, विभिन्न वडाअध्यक्षहरु, पत्रकार, समाजिक संघसंस्थाका प्रमुख तथा बाल क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी