मकवानपुरको थाहा नगरपालिकाको वार्षिक खेल क्यालेडर अनुसार ३ असारबाट सुरु भएको थाहा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक थाहा नगरपालिका पराजित भएको छ । थाहानगरको इन्द्रायणी चौरमा भइरहेको प्रतियोगितामा आयोजकलाई पराजित गर्दै पाखुरे युवाक्लब थाहा–७ विजयी भएको हो ।
निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल हुन नसकेपछि प्रतियोगिता ट्राइबेकरतर्फ उन्मुख भएको थियो । ट्राइबेकरमा पाखुरे युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिका टिमलाई ५–४ गोल अन्तरले पराजित गर्यो । निर्णायक क्षणमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका पाखुरे युवा क्लबका गोलरक्षक सुजन तामाङ प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित भए।
स्थानीय स्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर बिष्टले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।

प्रतियोगितामा सात वछा टिमको सहभागिता रहेको छ । प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्गत ४ असार बिहान समूह ‘बी’ को पहिलो खेलमा सक्रिय युवा क्लब थाहा–४ र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ। आयोजक शिखर क्लबले भने प्रतियोगिताको पहिलो चरणमा ‘बाइ’ पाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था समेत गरिएको आयोजकको भनाइ छ। यसले प्रतियोगितालाई अझ व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ । स्थानीय खेलप्रेमीहरूको उत्साहजनक उपस्थितिबीच सुरु भएको प्रतियोगिताले आगामी दिनमा थप प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू प्रस्तुत गर्ने विश्वास लिइएको छ। थाहा क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको थाहा गोल्डकपले स्थानीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
प्रतियोगिताको अफिसियल मिडिया पार्टनर टिम टेलिभिजन, थाहापाटी डट कम, पालिका प्रेस, थाहा टाइम्स, बाइरोडन्युज, पालिकाडायरी, सतमार्ग अनलाइन र साझाकुरा दैनिक रहेका छन।


















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्