मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का सक्रिय उद्यमशील महिला समुहमा आवद्ध सदस्यहरु नौमती पञ्चेबाजा बजाउन सिपालु भइसकेका छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई पन्छाउँदै उनीहरुले पञ्चेबाजा बजाउन थालेका हुन् । सिक्दै गरेका उनीहरुले दुई वटा सार्वजनिक कार्यक्रममा दिल खोलेर बाजा बजाए । उनीहरुले ५ जुनमा भएको विश्व वातावरण दिवस र २३ जेठमा जनकल्याण माविमा भएको विदेशी पाहुना स्वागत कार्यक्रममा बाजा बजाएका हुन् ।

ब्युटी पार्लर, सिलाई बुनाइ जस्ता तालिममा मात्र महिलाको आकर्षण हुने गरेकोमा पालुङका महिलाहरु दमाह, ट्याम्को, कर्णाल र नरसिङ्गाजस्ता विभिन्न थरीका बाजा सिक्न व्यस्त छन् । महिलाले बाजा छुन पनि हुँदैन भन्ने परम्परागत मान्यता छ । तर पालुङका बह्माण, क्षेत्री महिला एकजुट भएर पञ्जे बाजा बजाउन सिक्दै बजाउनै थालेको वडाका महिला सदस्य रितु कार्किले बताइन। थाहा नगरपालिकामा पहिलो पटक महिलाहरुले पञ्चेबाजा बजाउन असहज महशुस गरिएको भएपनि महिलाहरु यसतर्फ आकिर्षत भएको सदस्य कार्कीले बताइन् । ‘मैले सीप हस्तान्तरणको अभियानको रुपमा लिएको छु,’ उनले भनिन् । पुरुषले मात्रै बजाउने पञ्चेबाजा महिलाहरु समेत बजाउन अब्बल पार्ने उद्देश्यले कार्यक्रम राखिएको उनले बताइन् ।

महिला मात्र सहभागी नौमती बाजा समूह बनार्ई चितवनका राम बहादुर थापा र होम बहादुर थापाले प्रशिक्षण दिइरहेका छन् । स्वागत तथा सम्मानलगायतका कार्यक्रम, मंङ्गलधुन, दुलाहा अन्माउने, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भित्र्याउँदा मंगलधुनका प्रस्तुति गर्ने कला प्रशिक्षण दिइरहेको प्रशिक्षक थापाले बताए । उनले भने–‘महिलाहरुको लगनशीलता निकै नै रह्यो, छोटो समयमा सिक्दै बजाउन पनि थालिसके ।’ तालिममा महिलाको सक्रियता निकै प्रभावकारी रहेको थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । अनुभवी प्रशिक्षकको प्रशिक्षण र प्रशिक्षार्थी महिलाको लगनशीलताले सोचेभन्दा चाँडै बजाबजाउने सीप सिकेको शाखा प्रमुख लामिछानेले बताए ।

थाहा नगरपालिका सामाजिक विकास शाखा र २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सक्रिय उद्यमशिल महिला समुहका २० जना महिलाहरुले नौमती बजा बजाउने तालिमको प्रशिक्षण लिइरहेका छन् । तालिम २५ दिन सम्म संचालन गरिने वडा सदस्य युवराज बिष्टले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी